प्रचण्डको अर्को चाल पाँचै बर्ष प्रधानमन्त्री बन्न कांग्रेसलाई सभामुख वा राष्ट्रपति दिने
मन्त्रिमण्डल विस्तार भए पछि अन्य पदहरुमा राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दै सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा नेपाली कांग्रेसलाई पनि समेटेर अगाडि बढ्ने योजना प्रचण्डले बनाएका छन् ।
नेपाल र पौडेलको भेट हुनु र प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।
शनिबार नै प्रचण्डले केही सन्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा कांग्रेसले आफूलाई विश्वासको मत दिए पछि आफूमाथि कांग्रेसको दायित्व पनि थपिएको बताएका थिए ।
‘कांग्रेस स्वतः प्रतिपक्ष बन्छ भन्ने अनुमान थियो तर उसले पनि मलाई विश्वासको मत दियो,’ प्रचण्डले भनेका थिए, ‘यसले गर्दा उमाथि पनि मेरो दायित्व थपिएको छ ।’
प्रचण्डले शनिबार यतिमात्र बताएनन्, उनले अर्को महत्वपूर्ण कुरा पनि भनेका छन् । उनले भनेका छन्– सभामुख वा राष्ट्रपतिमा कसलाई बनाउने भन्ने विषयमा कसैसँग पनि लिखित सम्झौता भएको छैन ।
उनको यो अभिव्यक्तिले नेकपा एमालेमा भने तरंग आएको छ । यसअघि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा सभामुख र राष्ट्रपति दुवैमा नेकपा एमालेका उम्मेदवार हुने विषयमा प्रचण्ड र ओलीबीच मौखिक सहमति भएको थियो ।
‘यसअघिको सरकारमा प्रचण्डले बारम्बार आफूलाई केपी शर्मा ओलीले गरेको सहमतिबाट धोका भएको भन्दै आएका थिए,’ नेकपा एमालेका एक सांसदले भने, ‘यसले गर्दा अहिले प्रचण्डले त्यसको पालोको पैँचो तिर्ने त होइनन् भन्ने आशंका जन्मिएको छ ।’
तर, नेपाली कांग्रेसका अर्का एक सांसदलाई भने प्रचण्डले गरेको सहमतिलाई तोड्लान् भन्ने अपेक्षा आफूहरुले नगरेको बताएका छन् । ‘हाम्रो पार्टीले प्रचण्डलाई विश्वासको मत दिनै हुँदैनथ्यो, विश्वासको मत दिएपछि केही भाग खोज्न जान पनि हुँदैनथ्यो,’ उनले भने, ‘ओलीसँगका सहमति तोडेर प्रचण्ड कांग्रेसलाई सभामुख वा राष्ट्रपति दिन तयार हुन्छन् भन्ने मलाई लाग्दैन ।’
अर्कोतिर प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताउँदै आएका कांग्रेस नेता रामचन्द्र पौडेलले भने आफू राष्ट्रपति हुने सम्भावना देखेर दौडधूप सुरु गरिसकेका छन् ।
अब ३ माघमा हुने सर्वदलीय बैठकमा के छलफल हुनेछ भन्नेले प्रचण्डको नयाँ चालले निर्धारण गर्ने अनुमान गरिएको छ ।