काठमाडौं ।ओलि सरकारका सफल मन्त्री मानिने बर्षमान पुन र उनको माथहत रहने कुलमानले नेपाल विद्युत प्राधिकरणमा जनतालाई राहत हुने नयाँ  योजना अगाडि सारेका छन।

यसैबीच नेपाल विद्युत् प्राधिकरणले ग्यासमा खाना पकाउनु भन्दा बिजुलीमा सस्तो हुने गरी बिजुलीको नयाँ महशुल दर तोक्न लागेको छ । हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने विषयमा प्राधिकरण सञ्चालक समितिले बैठक गरी एक प्रस्ताव अगाडि बढाएको हो ।

यो प्रस्तावलाई प्राधिकरणले मगंलबार  विद्युत् नियमन आयोगमा पठाउने भएको छ । सो प्रस्तावमा १० युनिटसम्म खपत गर्ने आम नेपालीका लागि निःशुल्क व्यवस्था गर्न लागिएको हो । १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या आठ लाख जति रहेको छ ।

प्राधिकरण सञ्चालक समितिका सदस्यहरूका अनुसार बिजुली महसुल दरलाई आठ किसिमले वर्गीकरण गरिएको छ । बिजुलीको घरपरिवार उपभोगमा बृद्धि गराउने उद्देश्यले यो महशुल दरको प्रस्ताव गरिएको हो ।

प्रस्तावित नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ वर्गीकरण गरिएको छ ।
गार्हस्थ्य उपभोक्ताले उच्चतम प्रति युनिट १३ रूपियाँसम्म तिर्दै आएकोमा यो दरलाई घटाउने निर्णय गरिएको छ । आगामी ५ वर्ष भित्र गार्हस्थय उपभोक्ताको वार्षिक खपत ७०० युनिट पु¥याउने गरी योजना बनाइएको छ ।

अहिले  प्रतिव्यक्ति वार्षिक युनिट २४६ युनिट रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म ४२६ युनिटसम्म बढाउने लक्ष्य लिइएको छ । प्राधिकरणले यो आर्थिक वर्षभित्र ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना पूरा गर्नेछ ।

यो वर्ष नै थप तीन लाख ५० हजार घरपरिवारमा बिजुली लक्ष्य पूरा गर्ने योजना छ । अहिलेको भन्दा ४० प्रतिशत सस्तो हुने गरी बिजुली दर तोक्न लागिएको हो । यसबाट खपत बढी भएर लाभ बढी लिने योजना रहेको  छ ।

सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यास खपत घटाएर बिजुली  चुलो प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । शहरी क्षेत्रका डेरावाल एकल परिवारले इन्डक्सन चुलो प्रयोग गर्दा मासिक करिब ५० युनिट खपत हुने अनुमान प्राधिकरणको छ । यस आधारमा ग्यास खपत गर्नुभन्दा बिजुलीको खपत सस्तो हुने गरी नयाँ दर तोकिएको प्राधिकरणका अधिकारीहरूको दाबी रहेको छ ।