मौन चलचित्रको वैधानिक संघर्षमा माधव

काठमाडौं । नेपालमा १४ वर्षअघि एउटा मौन चलचित्र बनेको थियो । जसको नाम थियो चलचित्र ‘ढुंगे युग’ । तर, यो चलचित्रले अहिलेसम्म पनि मौन चलचित्रको वैधानिक मान्यता पाएको छैन ।

हुन त विश्वमा सिनेमा सुरुवात मौन (आवाज हिन) फिल्मबाट भएको हो । लुई लुमियर र अगस्टे लुमियरले सन १८९५ मा निर्माण गरेर पहिलोपटक दर्शकमाँझ ल्याएका छोटा केही रिलहरू (सिनेमा) ध्वानिविहीन थिए । सन् १९२७ मा पहिलोपटक ज्याज सिंगरमा ध्वनि मिश्रण गरिएपछि बल्ल टकिज (आवाज युक्त) सिनेमाको युग सुरु भएको हो । यसपछि विश्वभर आवाजयुक्त सिनेमा निर्माण भए ।

अहिले आवाजयुक्त सिनेमाको युगमा आवाजविहीन सिनेमा पनि बेलाबेलामा निर्माण हुने गरेको छ । निर्देशक माधवराज खरेलले सन् २०१० मा पहिलोपटक आवाजविहीन नेपाली चलचित्र ‘ढुंगे युग’ लेखन तथा निर्देशन गरेका थिए । यो सिनेमा कान सुन्न सक्ने नसक्ने दर्शकका लागि थियो । यो प्रयोगात्मक सिनेमा व्यावसायिकरूपमा २०६५मा सिनेमा हलमा रिलिज भएको थियो ।

सम्पूर्ण सञ्चार माध्यमले यो चलचित्रलाई नेपालको पहिलो मौन चलचित्रका रूपमा त्यति बेला सम्बोधन गरेको थियो । यो नेपालको पहिलो मौन सिनेमा भनेर निर्माण गरिए पनि सम्बन्धित निकायबाट त्यो अधिकार आफूले विगत १४ वर्षसम्म अझै नपाएको भनाइ यसका लेखक निर्देशक माधवराज खरेलको छ ।

फरक धारको सिनेमा बनाउन रुचाउने माधवले त्यसपछि बिरोनो माया, कुइनेटो, ढुंगे युग २, दुर्गामान्डु जस्ता चलचित्रको निर्देशन गरेर सिनेमा हलमा ल्याए । उनको नयाँ चलचित्र चिठी पनि प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्र पनि फेस्टिवल लक्षित भएको उनले बताएका छन् । यसरी विभिन्न चलचित्रको निर्देशन गरेको भए पनि उनी आपूmलाई नेपालको पहिलो मौन चलचित्रको निर्देशका रूपमा मान्यता पाउन चाहन्छन् ।

‘चलचित्र ढुंगे युगमा ढुंगे युगको कथा थियो । त्यतिबेला भाषाको उत्पत्ति भइसकेको थिएन । मानिसहरू इसाराले बोल्ने गर्थे । त्यति बेलाको सभ्यातालाई मैले चलचित्र ढुंगे युगमा उतारेको हुँ,’ निर्देशक खरेलले भने । यो चलचित्रमा अभिनेता दिलकृष्ण श्रेष्ठ, एवनराज उप्रेती, सविना पोखरेल, लक्ष्मण तिवारीलगायतको मुख्य भूमिका थियो । खरेल आफैंले लेखेको यो चलचित्रको छायाकारमा रत्न कार्की थिए ।

त्यतिबेला सबै मिडियाले नेपालको पहिलो मौन चलचित्र भनेर सम्बोधन गरेपछि खरेलले पहिलो मौन चलचित्रका रूपमा सरकारी निकायले यसलाई मौनचलचित्रको मान्यता दिन ढिलाइ ग¥यो । तर, अब भने चलचित्र विकास बोर्डले सो चलचित्रलाई सम्बोधन गर्ने आशा निर्देशक खरेलले गरेका छन् ।

हुन त उनलाई बोर्ड अध्यक्ष केशव भट्टराईले चलचित्र ढुंगे युगलाई नेपालको पहिलो मौन चलचित्रको मान्यता दिँदै यो फिल्मको एकप्रति आधिकारिकरूपमा बोर्डमा राख्ने पनि बताएका थिए । त्यो प्रक्रियालाई अघि बढ्दै गर्दा अध्यक्ष भट्टराईको निधन भयो । त्यसपछि यसको प्रक्रिया फेरि रोकियो ।

दक्षिण एसियामा पहिलो मौन चलचित्र ‘गम्बदा सुन्दरी’ श्रीलंकाले सन् १९६५ मा बनाएको थियो । त्यसलाई त्यतिबेलै श्रीलंकाले आफ्नो देशको पहिलो मौन चलचित्रका रूपमा मान्यता दिएको थियो । यता नेपालमा भने माधवराजले सन् २०१० मा मौन चलचित्र ढुंगे युग सिनेमा हलमा ल्याएका हुन् । यो सिनेमाको रिलिज अघि विभिन्न सामाजिक कार्यका लागि च्यारिटी पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *