बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव  विजयी हुनुभएको छ ।

उहाँले २८ हजार ४१४  मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गर्नुभएको छ । यादव पाँच हजार ८० मतको अन्तरमा विजयी हुनुभएको हो । नेता यादवले मतगणनाको सुरुवातदेखि नै अग्रगता कायम गर्नुभएको थियो ।

तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा हुनुहुन्छ।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो।

त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो । वैशाख १० गते भएको उपनिर्वाचनमा ६५.६६ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।

उपराष्ट्रपति यादव ८२३ मत ल्याएर विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाह १३ हजार ४६८ मत ल्याएर पराजित हुनुभएको थियो।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता कुशवाह अहिले जनमत पार्टीमा प्रवेश गरेर पुनःचुनाव लड्नुभएको हो।

वैशाख १० गते भएको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुनुहुन्छ । तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भइसक्नु भएको छ ।