काठमाडौँ । भर्ना अभियान चलिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताका छोराछोरीले चाहेको र रुचि भएको बिषय सहज रुपमा पढ्न पाउनुपर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको सरस्वती माध्यामिक विद्यालय शिबराज ९ बानियाभारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । कस्तो जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादन गर्ने र देशमा उपलब्ध जनशक्तिको आदर्श प्रयोग कसरी गर्ने भन्नेबारे राज्यसङ्ग योजना नहुँदा शिक्षा प्रणाली सर्वसाधारणको पहुँच बाहिर गएर शैक्षिक बेरोजगार उत्पादन गर्ने माध्यम भैरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शिक्षा सबैका लागि हुनुपर्ने , शिक्षा क्षेत्रलाई नीजिकरण र व्यापारिकरण हुनबाट रोक्नु पर्ने र सर्वशुलभ तथा जनताका छोराछोरीले चाहेको र रुचि भएको बिषयमा उच्च शिक्षा हासिल गर्न पाउनुपर्ने बताएका हुन् । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्वीकार गरेको भएपनि शिक्षामा नीजिकरण र ब्यापारिकरण हुँदै गएकोले एकातिर शिक्षा जस्तो राज्यको प्रत्यक्ष योजना र जिम्मेवारी भित्र पर्ने बिषय किनबेचको माध्यम बन्दै गएको छ भने अर्काेतिर संविधानमा ब्यवस्था गरिएको नागरिकको शिक्षा सम्बन्धि हक कार्यान्वयनको प्रत्याभूति हुन सक्ने स्थित छैन। उक्त कार्यक्रममा महासचिव विप्लव सी ले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान र पुरस्कार बितरण गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिराम रोका मगरले गरेका थिए भने शिक्षक राजेन्द्र बोहराले कार्यक्रमको सञ्चालन गरेका थिए।