अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन्। प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए। ‘आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ।

प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन्। अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन्।

विगतका वर्षमा अर्थतन्त्र योभन्दा कठिन अवस्थामा रहेकाले अहिले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको तर्क छ। ‘गत वर्षको तथ्यांक कमजोर हुँदा निद्रा नै लाग्दैनथ्यो,’ अधिकारीले भने, ‘अहिलेको स्थितिमा धेरै सुधार भएको छ।’

चालु खाता स्थिति १२.८ प्रतिशत नकारात्मकबाट बाउन्स ब्याक भएर सहज अवस्थामा आएको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा आइपुग्दा अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छन्। अर्थतन्त्रमा सकारात्मक सुधार भए पनि जनताले महसुस हुनेगरी सुधार हुन नसकेको कुरा भने उनले स्वीकारे। ‘अर्थतन्त्रका सूचक सकारात्मक छन्’, उनले भने, ‘समाजले महसुस गर्न पाएको छैन।’ ब्याजदर धेरै भयो भनेर निजी क्षेत्र छटपटारहेको अवस्थामा बैंकर्स संघले ब्याजदर घटाएको छ।

अहिले बाह्यभन्दा पनि आन्तरिक कारणले अर्थतन्त्र दबाबमा छ। राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी करिब २ खर्ब रूपैयाँ घाटामा छ। राजस्व ६ खर्ब ५६ अर्ब रूपैयाँ संकलन भएको छ। चालु खर्च ८ खर्ब ८९ अर्ब रूपैयाँ छ। पुँजीगत खर्च मंगलबारसम्म २७.१३ प्रतिशत मात्र छ। उत्पादन र उपभोग घट्दा बजारचक्र प्रभावित छ। व्यवसायीको मनोबल खस्किएको छ।

घरजग्गा कारोबार शिथिल छ। मुद्रास्फिीति ७.८८ प्रतिशत पुगेको छ। आर्थिक वृद्धिको लक्ष्य निराशाजनक छ।

अर्थतन्त्र संकटमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए। ‘अर्थतन्त्रमा समस्या देखिएकाले नै बजारचक्र प्रभावित भएको छ,’ उनले भने, ‘बजारमा पैसा छैन, अर्थतन्त्र कसरी ठिकठाक हुन सक्छ?’ मागमा संकुचन हुँदा त्यसको असर राजस्वलगायत क्षेत्रमा परेको बताउँदै उनले भने, ‘राजस्वले चालु खर्च धान्न सकेको छैन। मनी सप्लाई रोकिएर डिमान्ड कम भएको छ।’ संकटमा रहेको अर्थतन्त्रलाई सुधार गर्ने जिम्मेवारी सरकारको भएको उनले बताए।

अर्थतन्त्रप्रति नेपाल राष्ट्र बैंक ढुक्क हुनुलाई पूर्वअर्थसचिव रामेश्वर खनाल स्वाभाविक ठान्छन्। अर्थतन्त्रमा दुईवटा समस्या देखिए पनि धेरै चिन्तित हुनुपर्ने अवस्था नभएको खनालले बताए।

‘दुईवटा क्षेत्रमा वित्तीय असन्तुलन देखिएको हो,’ उनले भने, ‘विगतमा योभन्दा खराब अवस्था पनि हामीले झेलेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन।’ राजस्वले चालु खर्च नधान्नु र बैंक ऋणको गुणस्तर खस्किँदै जानु भने चिन्ताको विषय भएको खनालले बताए।

आर्थिक वर्ष २०५७/५८ र आव ५८/५९ मा अर्थतन्त्र अहिलेभन्दा खराब अवस्थामा रहेको खनाल स्मरण गर्छन्। ‘त्यो बेला अर्थतन्त्रलाई उकासेको हुनाले राष्ट्र बैंक ढुक्क देखिएको होला,’ उनले भने, ‘सरकारले चाह्यो भने सुधार गर्न सक्छ, त्रसित हुनुपर्ने अवस्था छैन।’

बाहिर हल्ला भएजस्तो अर्थतन्त्र गम्भीर संकटमा नरहेको खनाल बताउँछन्। ‘आर्थिक गतिविधि सुस्त भएका कारणले राजस्व कम भएको होइन,’ खनालले भने, ‘राजस्व चुहावट भएकाले समस्या देखिएको हो।’ ६ महिना लगातार आर्थिक वृद्धि ऋणात्मक भयो भने मात्र मन्दीको अवस्थामा जाने उनले बताए। ‘आर्थिक वृद्धिदरभन्दा मूल्यवृद्धि बढी भएकाले केही समस्या देखिएको हो,’ खनालले भने, ‘अर्थतन्त्र मन्दीमा गएको छैन।’

नागरिक दैनिक बाट