उनले भने, “नेपालको भू–बनावटका कारण संसारभरका मानिस रुची पूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ।” प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताएका छन् ।

“जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन् । आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।” सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि बताए।

वन तथा वातवरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सूरु भएको सो सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागी भएका छन्।