अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैङ्क र प्रवर्द्धक एसजेबीएनबीच सहमति भइसकेको छ । अब औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाउनेबित्तिकै ऋण सम्झौता हुने एसजेबीएनले जनाएको छ ।
हालसम्म आयोजनाको १५ प्रतिशत काम सकिएको छ । वर्षअघि लगानी बोर्ड र एसजेवीएनबीच भएको आयोजना विकास सम्झौता (पीटीए) मा विद्युत उत्पादन र प्रसारणलाइन निर्माणको लाइसेन्स पाएपछि मात्र लगानी सम्झौता हुने व्यवस्था रहेको जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रवीणराज अर्यालले बताए ।
केही साताअघि पोखरामा भएको नेपाल र भारतका संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा प्रसारणलाइन बनाउन १५ दिनभित्र लाइसेन्स दिने सहमति भएको छ । सोही सहमतिअनुसार प्रसारणलाइनको लाइसेन्स दिने काम अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव अर्यालले बताए । केही दिनभित्रै प्रसारणलाइनको लाइसेन्स दिने उनको भनाई छ ।
‘विद्युत् उत्पादन संरचना बनाउन स्टेट बैङ्कले ऋण लगानी गर्ने छ । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ ।’ उनले भने, ‘पञ्जाबको मुख्य लगानी रहेको एभरेष्ट बैङ्कले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात् २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैङ्कसँग पनि ८ अर्ब रुपैयाँ अर्थात् ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।’
नेपाली बैङ्कबाट थप ४ अर्ब रुपैयाँ ब्रिजलोन लिने तयारी भएको छ । नेपाल एसबीआई बैङ्क र नबिल बैङ्कसँग छलफल भइरहेको एसजेबीएन स्रोतले बतायो । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत् २५ अर्ब रुपैयाँ लगानी गर्नेछ । एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात् सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ ।
लगानी बोर्डले एसजेबीएनलाई विद्युत् उत्पादन अनुमतिपत्र लाइसेन्स दिइसकेको छ । प्रसारणलाइनको लाइसेन्समा भएको ढिलाइले बैङ्कसँग ऋण सम्झौतामा लम्बिएको हो । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युतगृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश (जेपी) एसोसिएट्स लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकेजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो ।