प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ बीच भेटवार्ता भएको छ । धेरैलाई जानकारी नदिइएको उक्त भेट बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बालुवाटार उच्च श्रोतले अग्निज्वालालाइ बताएको छ। भेटवार्तामा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी थिए ।

त्यसक्रममा संक्रमणकालीन न्यायका विषयमा छलफल भएको बताइएको भएपनि पछिल्लो घटनाक्रम परिवर्तनका लागि नेतृत्व गर्नेहरूविरुद्ध षड्यन्त्र भएकाले गम्भीर हुनुपर्ने धारणा आफूहरूले राखेको प्रवक्ता प्रकाण्डले जानकारी दिए । उक्त भेटमा पार्टी एकताको कुरा र देशको पछिल्ला घटनाक्रमको बारेमा लामो कुराकानी भएको बताइएको छ।  देशमा विगतमा जनताले आन्दोलन, युद्ध गरेर प्राप्त गरेको सीमित अधिकारविरुद्धको षड्यन्त्र देखिन्छ। यो देश र जनताको परिवर्तन र प्रगतिका विरुद्धको षड्यन्त्र हो । परिवर्तनका निम्ति जसले नेतृत्व गर्‍यो त्यही शक्ति, तीनै जनता र विचारका विरुद्ध भएकाले सिरियस छ । सरकारको तर्फबाट सिरियस लिएर कन्ट्रोल गर्नुपर्‍यो ।

बिप्लवका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा विदेशी चलखेल र षड्यन्त्रको खतरा रहेको बताएका थिए ।बुधबार माओवादी धारका आठ दलले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग गदै विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वपीडितको रिट सर्वोच्च अदातलमा दर्ता भएको छ ।