काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षाका कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, वाग्मतीमा २, कोशी र उपत्यकामा १/१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । ३ जना बेपत्ता छन् । बाढीले उदयपुरको बेलका–३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता भएका छन् । त्यस्तै स्याङ्जाको बिरुवा–६ र तनहुँको शुक्लागण्डकी–७ मा पहिरोले पुरिएर ३/३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा नै परी पर्वतको फलेबास कार्कीनेटामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीले बगाएर दाङको लमही र राजपुरमा २ जनाको मृत्यु भएको छ भने पाल्पाको माथागढीमा र कोशीमा एक/एक जनाको मृत्यु भएको छ । काभ्रेको रोशीमा बाढीमा परी दुई जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु भएको जनाइएको छ । बाढीपहिरोमा परी पछिल्लो दुई दिनमा मृत्यु हुनेमा ७ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन् । पहिरोमा परी स्याङ्जामा ७ र तनहुँमा ५ जना घाइते भएको प्रहरी प्रवक्ता कार्कीले जनाए ।सिन्धुपाल्चोकको हेलम्बु, गुल्मीको रुरुक्षेत्र, चितवनको इच्छाकामना र ओखलढुंगामा ६ जना घाइते भएका छन् ।