काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सांसद माधव सापकोटाले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र परारदर्शीको संज्ञा दिएका छन् ।  संघीय संसदको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै उनले राजनीतिक स्थिरता र संविधानका विषयमा पुनरावलोकन गर्न भनिएपनि मूलत यो गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए ।  गिरीबन्धु चिया बगानका विषयमा नेकपा एमालेका अध्यक्ष लगायतका नेताहरु मुछिएकाले त्यसबाट बचाउन र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएकाले उनीहरुलाई बचाउन यो गठबन्धन भएको उनले तर्क गरे ।  ‘हामीलाई के विश्वास लाग्दैन भने, हामीले अहिले अभ्यास गरिरहेको संसद्को अभ्यासले सबैभन्दासबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वाचडगको रुपमा प्रमुख प्रतिपक्षीको रुपमा बस्ने। तर, संसदको यो लयले सुरुकै दिनदेखि बिराएको हो,’ उनले भने, ‘दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि स्वर्ग गएपनि सँगै जाऔँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउने? यो कहाँको नैतिकता हो? भर्खरै सत्तापक्ष छाडेर प्रतिपक्षमा जानुभएका प्रिय कमरेडहरू, यही हो नैतिकता?’ दिनभरी प्रधानमन्त्रीसँग यही सरकारलाई निरन्तरता दिने हो भनेर सहमति गर्ने र मध्यरातमा अमुक व्यक्तिको घरमा सहमति गर्नुचाँही नैतिकताको प्रश्न हुने उनले तर्क गरे ।  सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने उनले बताए । ‘बेचन झाको गिरफ्तारी र उनले दिएको प्रमाणले सरकारमा सहभागि घटक नेकपा एमालेले मुसा प्रबृत्ति देखायो । संविधानमा राजीनामा दिनुपर्ने उल्लेख नभएको र विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले पत्राचार नै गरिसकेकाले घटनाक्रमलाई विसयान्तर गर्ने र प्राकृतिक विपत्तिले अप्ठ्यारो परेको बेला यो सरकार फेरबदलको सहमति गर्नु आश्चार्यजनक छ । ‘उहाँहरूले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ। हामीले यहाँ छलफल गरिरहँदा समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौता भए बाहिर आएको छैन,’ उनले भने, ‘मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छ? हामीले देख्न पाएका छैनौँ। यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा के भयले काम गरेको छ? सबैभन्दा पहिलो अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ।’