काठमाडौं । नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।   पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको जानकारी दिए । यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए पर्सी (बिहीबार) बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए । मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिएका छन् ।  बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।