काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले अर्थसचिव तथा सचिवहरुलाई विदेश भ्रमण नभई स्वदेश भ्रमण गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारका अर्थसचिव तथा सचिवहरूले विदेश भ्रमण नभई स्वेदशमै मेची महाकाली यात्रा गर्न आग्रह गरेका हुन् ।

यस्तै, उनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नरको सक्रियता बढेको कारण अर्थतन्त्रमा सुधार आउन सक्ने सम्भावना देखिएको पनि बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अबका अर्थमन्त्रीले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने आँट नगर्ने उनको भनाइ छ । उनले सेयर बजार र घरजग्गामा गरिएको कडाइ पनि हटाउनु पर्ने धारणा राखे ।

‘सार्वजनिक वित्त बिग्रिएको कारण अर्थतन्त्रमा समस्या आएको हो, ३२ वटा एयरपोर्ट, भ्यूटावर बनाउनमा ठूलो रकम खर्च भएको छ । तर, त्यहाँबाट खासै उत्साहजनक आम्दानी हुन सकेको छैन, अहिलेको समस्या समाधान गर्न विदेश भ्रमणमा नगई मेचीमहाकाली यात्रा गर्न अर्थसचिव, सचीवहरुलाई आग्रह छ,’ उनले भने ।

यस्तै, उनले पुर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने सुझाव दिए । ‘अर्थतन्त्र चलायमान नहुँदा राजस्व घट्ने र बजारमा मनोबलमा गिरावट आउँछ, नयाँ सेक्टर खोजी गरि निजी क्षेत्रलाई दिनुपर्छ,’ उनले भने ।