काठमाडौं । तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीको शपथ लिने तयारीसँगै नरेन्द्र मोदीले छिमेकी देशका नेताहरूलाई सपथ ग्रहण समाराेहकाे निम्तो दिएका छन्। अघिल्लाे कार्यकालमा पनि माेदीले सपथग्रहण समाराेहमा छिमेकी देशका नेताहरूलाइ निम्ताे दिएका थिए । यसपाली पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ निम्ताे अाएकाे उनकाे सचिवालयले जनाएकाे छ । शनिबार शपथ लिने तयारी भएको छ । त्यसअघि बुधबार मोदी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)बाट सर्वसम्मत रूपमा नेता चुनिएका छन्। लोकसभा चुनावमा एनडीएलाई २९३ सिट मिलेको छ। एनडीएकन सबै घटक दलले आफ्नो समर्थन पत्र सुम्पिएपछि मोदी तेस्रो पटक प्रधानमन्त्रीका लागि शपथ लिने तयारीमा जुटेका हुन्। शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी सुरू भइसकेको छ। जसमा विदेशी नेतालाई निम्तो दिइएको हो।जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि छन् । उनले बुधबार नै मोदीलाई बधाई दिइसकेका छन् । बुधबार नै दुई नेताबीच टेलिफोन संवाद भएको छ। मोदीले प्रचण्डसँगको टेलिफोन संवादपछि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने वचन दिएका छन् ।उनले प्रचण्डलाई धन्यवाद दिँदै हार्दिकताका लागि आभार व्यक्त गरेका छन् । दुईजनाले भारत र नेपालबीच गहिरो र बहुआयामिक साझेदारीलाई बढावा दिनका लागि आफ्नो साझा प्रतिबद्धताबारे चर्चा गर्दै आपसी सम्बन्धमा सकारात्मक गति बनाइराख्न सहमत भएको पनि जनाएका छन् । उता, बंगलादेश, श्रीलंका, भुटान र मरिशसका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि दिल्ली बोलाइएको छ। प्रचण्डसहित उनीहरूलाई पनि बिहीबार लिखित निम्तो पठाउने तयारी मोदीको सचिवालयले गरेको छ । यसअघि तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेको भन्दै नेपालसहित ७५ देशका नेताले मोदीलाई बधाई दिइसकेका छन् ।