भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ‘ह्याट्रिक’ जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् ।  मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए । उता विपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् । गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएकी थिइन् । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् । राहुल गान्धी वायनाडमा भारतीय कम्युनिस्ट पार्टीकी एनी राजाभन्दा ३ लाख ६० हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ४१ हजार ७ सय २५ मतसहित अग्रता बनाएका छन् । त्यस्तै उत्तर प्रदेशको रायबरेलीमा गान्धी भाजपाका दिनेशप्रताप सिंहभन्दा ३ लाख ८८ हजार बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ८४ हजार मत ल्याउँदा सिंहले २ लाख ९५ हजार मत ल्याएका छन् । उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।  प्रधानमन्त्री पदमा कायम रहन नरेन्द्र मोदीलाई गठबन्धनका साना पार्टीहरुको साथ चाहिने भएको छ।  भाजपाको एकल बहुमत नरहेपछि सरकार गठनका लागि दुई क्षेत्रीय पार्टीहरु तेलुगु देशम पार्टी र जनता दल युनाइटेड निर्णायक हुने भएका छन्। सरकार बनाउन ५४३ सदस्यीय लोकसभामा २७२ सिट आवश्यक हुन्छ। तर, भाजपाले २४० सिट मात्र जित्ने देखिएको छ। अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनमा भाजपापछिको ठूलो पार्टी आन्ध्र प्रदेशको टीडीपी बन्ने भएको छ। सो पार्टीले १६ सिट जित्ने देखिएको छ।  टीडीपीका नेता चन्द्रबाबु नायडु हुन्। विधानसभामा पनि भारी बहुमत ल्याएका उनी यहाँ मुख्यमन्त्री बन्नेछन्। त्यस्तै, एनडीए गठबन्धनबाट जदयु तेस्रो पार्टी बन्दैछ। उसले लोकसभामा १४ सिट जित्ने देखिएको छ। भाजपालाई बहुमत पु¥याउन यी दलको साथ अनिवार्यजस्तै देखिन्छ। यसबाहेक एनडीएका अन्य दुई दलले ५–५ र थुप्रैले २ तथा १ सिट जितेका छन्। भाजपालाई तिनको पनि समर्थन महत्वपूर्ण हुनेछ। निश्चय नै नायडु र नितिश कुमारलाई आफूतिर तान्न विपक्षी इन्डिया गठबन्धनले पनि कोसिस गर्नेछ। नतिजा सार्वजनिक भइरहँदा नै इन्डियाका नेताहरुले यी दुई नेतासँग कुराकानी गरेको खबर बाहिरिएका छन्। यस्तोमा दशकौँ राजनीतिको खेलमा खारिएका यी नेताले आफूलाई फाइदा हुने गठबन्धन रोज्नेमा कुनै द्विविधा छैन।एजेन्सी