काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली रेमल चक्रवातकाे प्रभाव नेपालका ४ प्रदेशमा प्रभाव पर्ने भएको छ ।  सोमबार र मङ्गलवार दैनिक जन–जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ एक बुलेटिन मार्फत जनाएकाे छ । साथै महाशाखाले सतर्कता तथा पूर्व तयारी अपनाउन पनि आग्रह गरेको छ ।  बङ्गालको खाडीमा विकसित न्यून–चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ ।  रेमल नाम दिइएको उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीय तर्फ अगाडि बढिरहेको जनाइएको छ ।  उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको विभागको भनाई छ ।  नेपालको सन्दर्भमा रेमल चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलवार नेपालको कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण देखि पूर्णरुपमा बदली रहने जनाएको छ ।  कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र  एक–दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।  तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  बुलेटिनमा भनिएको छ–‘मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चट्याङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ यस्तै गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन र चट्याङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा  र  केही स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।