काठमाडौं , ३० वैशाख – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामालाई सम्बोधन गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका सम्बन्धमा उनले संसदलाई जानकारी गराएका थिए ।सम्बोधनमा उनले भारतका प्रधानमन्त्रीसँग नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने सहमति भएको जानकारी गराए । साथै उनले संविधान दिवसलाई आधार मानेर विगतमा भएका दुई देशीय सन्धि सम्झौतालाई कार्यान्वय गर्ने सहमति भएको उनले बताए ।

उनले संसदलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीसँग आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भौगोलिक अखण्डता तथा राष्ट्रिय हितलाई सम्मान गर्ने विषयमा उच्च स्तरीय सहमति भएको बताए ।

काठमाडौं –रक्सौल रेलमार्गका लागि संयुक्त कार्य दल बनाएर सर्वेक्षण गर्ने र सम्झौता पत्रमा छिट्टै हस्ताक्षार गर्ने समझदारी भएको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन् ।

ओलीले हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको ओलीले जानकारी गराए । हाल नेपाल प्रवेश गर्ने एक वटामात्रै हवाई रुट रहेको छ ।

‘अहिलेको कनेक्टिभिटीको जमानामा हवाइजहाज पस्ने रुट सिमरा हुँदै एकमात्रै छ । अब भैरहवा, विराटनगरतिरबाट पनि रुटहरु चाहिएको छ । दुई प्रमको तहमा थप चार रुट लिनको लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको छ।’, ओलीले भने, ‘सेप्टेम्बर भित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’

उनले तराईमा रहेको डुबानको समस्या समाधान गर्न पनि भारतीय प्रमसँग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए ।

प्रधानमन्त्रीले संसद अधिवेशन बन्द भइसकेकोले भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बारेमा समयमा जानकारी दिन नसकेको पनि जानकारी गराएका छन् ।

खबरदारीका लागि धन्यवाद

प्रधानमन्त्रीले यसबीचमा पुराना कमजोरी नदोर्‍याउन भएका खबरदारीका लागि धन्यवाद दिएका छन् ।

‘नेपाली जनताको देशभक्तिलाई अत्यन्त प्रसंसा गर्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘सरकारलाई लगातार गल्ती नहोस्, कमीकमजोरी नहोस्, चुक्ने काम नहोस्, विगतका कमीहरू सच्याउने काम होस् भनेर लगातार खबरदारी गर्ने काम नेपाली जनताबाट भयो । मिडिया र बुद्धिजीवीको गहन सरोकार रह्‍यो । अत्यन्त सकारात्मक रुपमा लिएको छु ।’

प्रधानमन्त्रीले ‘राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय हीत र स्वाभिमानप्रति सजग नरहे कुनै पनि कुरालाई बचाउन सक्ने अवस्थामा नरहेको’ संसदमा बताए । ‘नेपाली जनताको जागरुकताले नै यी कुराले सवल बनाउने हो’, उनले भने।