बन्द अवज्ञा गरी सवारी चलाएको भन्दै धादिङको धुनिवेसी ६, चालिसेमा बन्द पक्षधरहरुले दुईवटा कन्टेनर (ट्रक)मा आगजनी गरेका छन् । आगजनी गरिएका ट्रक भारतीय नम्बर प्लेटका रहेको बताइएको छ ।

अज्ञात समूहले आइतबार बिहान साढे २ बजेतिर आगो लगाएका हुन् । आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको २० चक्के ट्रकमा आगजनी गरेको हो । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मुख्य बजारमै आगो लगाएपछि त्यस क्षेत्र र वरपरका क्षेत्रको वातावरण त्रसित भएको छ । आगो निभाउनका लागि काठमाडौंबाट दमकल मगाइएको छ भने आगो नियन्त्रणका लागि नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी भएको धादिङ प्रहरीले जनाएको छ ।

उता चितवन भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा पनि विहानै बम विष्फोट गरिएको छ । प्रचण्डको समेत लगानी रहेको भनी चर्चा हुने गरेको सो सुपर मार्केटमा शक्तिशाली विष्फोट भएको बताइए पनि क्षतिबारे पूर्ण विवरण प्राप्त भएको छैन ।

यसैगरी चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट गरिएको छ । बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात चल्न सकेका नसकेको बन्द आयोजक पक्षको दाबी छ । राजधानी काठमाडौंमा भने सवारी साधनहरु आंशिक रुपले सञ्चालनमा रहेको पाइएको छ ।