काठमाडौं बैशाख १९


नाइजेरियाको उत्तर–पूर्वी सहर मुबीमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ।

बिबिसीका अनुसार घटनामा १२ जनाभन्दा बढी घाइते भएका छन्।

पहिलो विस्फोट मस्जिदमा करिब दिउँसो १ बजे र दोस्रो बिस्फोट मस्जिद नजिकै भएको बिबिसीले जनाएको छ।

नमाज पढ्ने तयारी भइरहेका बेला मस्जिदभित्र र बाहिर बम विष्फोट भएका हुन्। यस आत्मघाती हमला इस्लामिक चरमपन्थी समूह बोको हरामले गरेको हुनसक्ने आशंका आडमवा प्रान्तका पुलिसले गरेको छ।

बोको हराम सन् २००९ देखि नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनुपर्ने मागसहितसंघर्ष गर्दै आएको छ।

बोको हरामको आक्रमणबाट नाइजेरियामा अहिलेसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भइसकेका छन्।