वैशाश २८ गते जनकपुरबाट ओलीको लम्पसारवादको यसरी हुँदैछ भव्य नौटंकी प्रदर्शन !

काठमाडौं -एउटा लम्पसारवादको भव्य नौटंकी यही वैशाख २८ गते जनकपुरको बाह्र विगाह मैदानमा प्रदर्शन हुँदैछ ।     पञ्चायतकालमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव शरदचन्द्र शाहको अनौठो बानी थियो, जसले उनलाई अन्य पञ्चभन्दा फरक देखाउँथ्यो ।

दशरथ रंगशालाको कुनै समारोहमा राजाको सवारी भएमा शाह आफ्नो पूरै ज्यानलाई भुइँमा घोप्टो पारेर राजालाई ढोग्थे । त्यो पञ्चायतभित्रको ‘लम्पसारवाद’ थियो । अचेल मुलुकमा राजतन्त्र त छैन, तर ‘लम्पसारवाद’ कायमै छ । सिंहदरबारमा शासन गर्नेहरु अचेल राजाको ठाउँमा भारतीय शासक सामु लम्पसार पर्न थालेका छन् ।

यस्तै एउटा लम्पसारवादको भव्य नौटंकी यही वैशाख २८ गते जनकपुरको बाह्र विगाह मैदानमा प्रदर्शन हुँदैछ ।

अभिनन्दन के पिछे क्या है ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आम नेपालीमा सकारात्मक भाव छैन । किनकि उनले नेपालीको दिल दुःखाएका छन् । तर, अर्को सत्य के पनि हो भने मोदीको लोकप्रियता भारतमै पनि खस्कदैछ । यो तथ्य भारतीय मिडियामै छरपस्ट छ ।

भारतमा मोदीको लोकप्रियताको ग्राफ दिन प्रतिदिन घट्दैछ । सन् २०१८ को जनवरीमा आजतक च्यानलले गरेको एक सर्वेक्षण अनुसार बितेका एक वर्षको अवधिमै मोदीको लोकप्रियता १२ प्रतिशतले घटेको छ ।

सन् २०१७ मा मोदीको लोकप्रियता ६५ प्रतिशत थियो भने सन् २०१८ मा त्यो ५३ प्रतिशतमा झरेको छ । उता, कांग्रेस अध्यक्ष राहुल गान्धीको लोकप्रियता भने ठयाक्कै १२ प्रतिशतले बढेको छ । राहुलको लोकप्रियताको दर २२ प्रतिशतबाट आगामी दिनमा झन बढ्ने सम्भावना व्यक्त गरिँदैछ भने मोदीको चाहिँ ५३ बाट तिव्र रफ्तारले घट्ने सम्भावना व्यक्त गरिँदैछ ।

भारतकै अर्को च्यानल एबीपी न्यूजका लागि सिएसडिएस लोकनीतिको सर्वेक्षण अनुसार सन् २०१७ मा मोदी सरकारसँग असन्तुष्ट मानिसहरुको संख्या २७ प्रतिशत थियो, जुन सन् २०१८ मा बढेर ४० प्रतिशत भइसकेको छ । सर्वेक्षणका अनुसार अधिकांश सहभागीले मोदी सरकार महँगी नियन्त्रण गर्न, किसानको आत्महत्या रोक्न र बेरोजगारीसँग लडन असफल रहेको धारणा राखेका थिए ।

नोटबन्दी, जटील कर प्रणाली जिएसटी, मुश्लिम समुदायमाथिको विभेद, गोरक्षाका नाममा हिन्दु अतिबादीहरुको गुण्डागर्दी र विकासको मोडलतर्फभन्दा हिन्दु अतिवादी हैकमतर्फ केन्द्र सरकार अग्रसर हुन थालेपछि मोदीको लोकप्रियता खस्कँदै गएको हो । यसैलाई चर्काउँदै विपक्षी कांग्रेसले समाजवादी, बहुजन जवादीलगायतका दलहरुसँग आउँदो सन् २०१९ को निर्वाचनमा मोदीविरुद्ध महागठबन्धनको घोषणा गरिसकेको छ । एबीपीको सर्वेक्षण भन्छ, ‘नरेन्द्र मोदी सरकारबाट असन्तुष्ट मानिसको संख्या बढदैछ । यदि अहिले नै चुनाव भयो भने मोदी विरोधी यूपीए गठबन्धनको सीट संख्या बढ्नेछ ।’

हुन पनि उत्तरप्रदेश, मध्यप्रदेश, विहार, राजस्थान र पंजाब लोकसभाको उप चुनावमा मोदीको पार्टी भाजपाको हार हुनु मोदी मन्त्र निस्प्रभावी हुँदै गएको सँकेत हो । त्यसमाथि मोदीपछिकै उदाउँदो नेताका रुपमा सम्भावना व्यक्त गरिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकै क्षेत्र गोरखपुरमा भाजपाले हार ब्योहोर्नुपरेको छ ।

यसबाट आगामी निर्वाचनमा मोदी नेतृत्वको नेसनल डेमाक्रेटतीक अलाइन्स(एनडीए)ले बहुमत ल्याए पनि त्यो भाजपाले एनडीएका अन्य दलहरुमा बढी भरपर्नुपर्नेछ । त्यसो भएमा मोदीको एकल वर्चस्ववाला शासन रहनेछैन, उनको साँचो एनडीएका अन्य दलहरुको हातमा हुनेछ ।

यही कारण आफू बढी अलोकप्रिय हुनुअगावै मोदीले यसै वर्ष निर्वाचन घोषणा गर्नसक्ने अडकल पनि कसैकसैको छ । तैपनि सन् २०१९ को आम निर्वाचनमा अलोकप्रियताको ग्राफ घटाउन मोदी आन्तरिक र बाह्य रुपमा आफुले धेरै राम्रो काम गरेको देखाउन चाहन्छन् ।

जनकपुरमा नागरिक अभिनन्दनमा सहभागी भई नेपालका प्रधानमन्त्रीसँग कुम जोडेर उनी ‘छिमेकी देशसँग कुटनीतिक सम्बन्ध सुधारेको’ सन्देश सीमापारि भारतीय जनता सामु दिन चाहन्छन् ।

किनकि नेपालमाथि थोपरिएको नाकाबन्दीको भारतमै पनि विरोध भएको थियो । मोदी सरकारको परराष्ट्र नीति असफल भएकाले श्रीलंका, पाकिस्तान र बंगलादेशसँगै नेपालमा पनि चीनको प्रभाव बढेको विश्लेषण भारतीय विश्लेषकहरुले गरिरहेका छन् ।

ओलीसँग कुम जोडेर मोदी नेपाललाई आफूले मनाइसकेको सन्देश दिन चाहन्छन् मोदी । यो उनको चुनावी लाभ लिने स्टन्ट मात्र हो । तर, उनको अभिनन्दन गरेर नेपालले के पाउने ? के यो नाकाबन्दी पिडित तमाम नेपालीको उपहास हैन र ?

जे होस्, खुदै भारतीय कांग्रेस पार्टीका नेता मणिशंकर अय्यरले मोदीको विदेश भ्रमण र यस्ता अभिनन्दन कार्यक्रमबारे मिडियामा भनेका छन्, ‘यो सबै नौटंकी हो । मोदी हरेक ठाउँमा आफैलाई देखाउन चाहन्छन् । संसारभर घुम्छन्, भारतको हैन, आफ्नै शो गर्छन् । तर, त्यसबाट के हुन्छ ? त्यहाँ उनकै समर्थक पुग्छन्, मोदी, मोदी भनेर चिच्याउँछन् । मोदी–मोदी भन्न लगाउनु कुनै विदेश नीति हो र ? आफ्नै ढँढोरा पिटेको हो ।’

नागरिक अभिनन्दन किन ?

अम्बर गुरुङको स्वरमा रहेको एउटा गीत धेरै वर्षसम्म सार्वजनिक भएन । केही समयअघि त्यो गीत सार्वजनिक भयो, जसको बोल छ, ‘सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेउ ।’

हो, सुगौली सन्धि र सन् १९५० को असमान सन्धि बिर्सन नसकेका नेपालीले विसं २०७२ मा भारतले नेपालमा जर्बजस्ती लादेको नाकाबन्दी बिर्सने त कुरै आएन । सम्झेका छन् र सम्झिरहनेछन् ।

नाकाबन्दीकै कारण बिग्रेको नेपाल भारत सम्बन्धमा खासै सुधार आउन सकेको पनि छैन । दुवै देशका शासकको चोचोमोचो मिले होला । तर भारतको त्यो हेपाहा ज्यादतीको सघन पीडाबोध नेपाली जनमानसको मनबाट सेलाएको छैन । बरु मोदीको अभिनन्दनको खबरले झन बल्झाएको छ । त्यो पीडा सम्झाइदिएको छ ।

हामी जतिबेला महाविनाशकारी महाभुकम्पको त्रासदीपूर्ण पिडा, बेदना र शोकमा डुबिरहेका थियौं, भारतले ठीक त्यसैबेला हाम्रो घाउमा नाकाबन्दीको ‘तेजाब’ फयाँकेको थियो । त्यसबेला हामी रन्थनीएका थियौं, चिच्याएका थियौं र ‘कस्तो घटिया छिमेकी परेछ’ भन्दै दक्षिणतिर धारे हात लगाउन विवश थियौं ।

आपसमा सीमा जोडिएको छिमेकी मित्र मुलुकले गर्ने सभ्य हर्कत त्यो पटक्कै थिएन । त्यो ‘वस्त्रहीन हर्कत’ अन्र्तराष्ट्रिय जगतमै आलोचीत भयो, किनकि त्यसले अन्र्तराष्ट्रिय महासन्धी, सम्झौता र कानूनको उल्लंघन गरेको थियो । नेपालका लम्पसारबादी शासकले बिर्से पनि जनताले त्यसलाई बिर्सेका छैनन् ।

सन् १९६६ मै भुपरिबेष्ठित मुलुकलाई समुद्रको प्रयोग र परिवहन सुविधा दिनुपर्ने अन्र्तराष्ट्रिय सम्झौता भएको थियो । यसैगरी सन् १९८२ मा भएको सामुद्रिक कानूनसम्बधी संयुक्त राष्ट्रसंघीय महासन्धीमा हस्ताक्षर गर्ने १६५ देशमध्ये भारत र नेपाल पनि छन् । यो सन्धी अनुसार नेपालले सहजै समुद्रसम्म पहुँच पाउनुपर्छ । विश्व व्यापार संगठनको सम्झौताको दफा ५ अनुसार भूपरिबेष्ठित राष्ट्रका लागि तेश्रो मुलुकबाट आउने सामानलाई रोक्न मिल्दैन । यी यावत महासन्धी र कानूनको ठाडो उल्लंघन गर्दै हामीमाथी ‘नाकाबन्दी अटयाक’ गरियो, जसको पीडा कुनै सर्जिकल अट्याकभन्दा कम थिएन । र , त्यो घाउ अझै दुखिरहेको छ ।

अन्र्तराष्ट्रिय कानूनविपरीत लादिएको नाकाबन्दीको ‘खिलाफ’मा नेपालले अन्र्तराष्ट्रिय अदालतमा मुद्दा चलाउनुपथ्र्यो । तर, त्यही नाकाबन्दीको विरोधबाट हासिल गरेको ‘राष्ट्रवादी सेन्टिेमेन्ट’ भँजाएर चुनाव जिती सत्तामा पुगेका प्रधानमन्त्री केपी ओली यतिबेला तिनै भारतीय शासकको ताबेदारी गर्दैछन् । यो सरासर ओली राष्ट्रबादको ‘लम्पसारबाद’मा स्खलन हो । आम मतदाता यतिबेला रुष्ट छन्, जसले ओलीको राष्ट्रबादी चास्नीमा घोलिएको भाषणमा लठ्ठ भएर उनको नेतृत्वलाई भोट हालेका थिए ।

प्रधानमन्त्री निर्वाचित भएयताका करीब साढे तीन वर्षमा मोदीबाट नेपालको हितमा खासै केही योगदान भएको देखिँदैन । यसअघि मोदी नेपाल आउँदा बनाइदिने सहमति गरिएको प्रहरीको एकेडमी हलसमेत भारतले अझै बनाएको छैन । बरु, त्यसैबेला चीनले बनाइदिन्छु भनेको शसस्त्र प्रहरीको हल निर्माण गरीवरी हस्तान्तरण गरिसकेको छ ।

भारतले भूकम्प पीडितका लागि दिन्छु भनेर कबोल गरेको सहयोगसमेत दिएको छैन । भारतको नेहरु कालीन डक्ट्रीनभन्दा मोदी खासै भिन्न देखिएनन् । सुरुमा ‘बुद्ध नेपालमा जन्मिएको’ भन्दै नेपालीको मन जित्ने कोशीस गरेका उनी त्यहाँको कर्मचारीतन्त्रको रणनीतिक फ्रेमभित्र आइहाले र अन्य देशमा जाँदा ‘बुद्ध भारतमा जन्मिएका अनमोल रतन’ भन्न थाले । आखिर, पुराना शासकभन्दा मोदी के अर्थमा भिन्न देखिए ?

०२७ सालमा उत्तरी नाकामा रहेका भारतीय सुरक्षा बलका १६ वटा चौकी नेपालले हटाएको थियो । कुनै स्वतन्त्र र सार्वभौम मुलुकको भूमिमा अर्को मुलुकले आएर सुरक्षा चौकि राख्नु ठाडै बेइमानी थियो । ती चौकी हटाइँदा पनि भारतले नाकाबन्दी थोपरेको थियो । ०४५ सालमा नेपालले चीनबाट हतियार किनेको निहुँमा १३ महिनासम्म नाकाबन्दी थोपरियो । र, हामी आफैले संविधान जारी गरेको झोंकमा २०७२ सालमा फेरि उसले नाकाबन्दी लाद्यो । आखिर नेपाललाई हेप्ने र थिच्ने मामिलामा भारतका पुराना शासकभन्दा मोदी कुन हिसाबले फरक देखिए, त्यत्रो ज्वाइ अभिनन्दन नै गर्नलाई ?

भारतका दृष्टिमा हाम्रो गल्ती एउटै थियो, उसको सहमति बेगर संविधान जारी गर्नु । नेपालका तीन प्रमुख शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र), राप्रपा, राजमोलगायतका दलहरुको व्यापक सहमतिमा ०७२ असोज ३ गते संविधान जारी भयो, त्यसको तीनपछि असोज ६ गतेबाट नाकाबन्दी लागिहाल्यो ।

एउटा स्वतन्त्र मुलुकले आफ्नो देशको संविधान आफै बनाउँदा अर्को देशलाई आपत्ति हुनु भनेको हैकमवादी सोच र रवैया हो । भारतले हामीलाई आफ्नै प्रान्तसरह ठानेको यसबाट स्पष्ट हुन्छ । मोदी पनि यस मामिलामा आफ्ना पुर्व शासकभन्दा एकरत्ति भिन्न देखिएनन् । ‘पडोसी को आँख दिखाकर नही, आँख मिलाकर सम्बन्ध बढाना चाहिए’ भन्ने आफ्नै भनाइबाट उनी पछि हटे ।

नेपालीको स्वाभिमान र सार्वभौम अधिकार बिथोल्न खोज्ने र हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नेहरुलाई नै अभिनन्दन गर्न के हामीलाई सतीले श्राप दिएकी थिइन् ? भन्नुस्, महान राष्ट्रवादी प्रधानमन्त्री ओलीज्यू ? जनता जान्न चाहन्छन् ।

सार्वभौमसत्ता दिल्लीतिर सरेको हो ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसपालि सोझै काठमाडौं नआई हेलिकोप्टरबाट जनकपुर अवतरण गर्दैछन्, जहाँ उनको ‘भव्य’ नागरिक अभिनन्दनको तयारी हुँदैछ । पान पसलतिर लाउड स्पीकरमा गुञ्जिन थालेको छ–

‘बहारो फूल बर्षाओ

मेरा मेहबूब आया है’

प्रदेश नम्बर दुईका मुख्यमत्री, मन्त्री र मधेशी नेताहरु जनकपुरका सडक र चोकमा झाडु लगाउन हानाथाप गरिरहेका छन् । चलो भाइ, मौका यही हो, दिल्ली रिझाउने । लंकामाथि विजय प्राप्त गरेर अयोध्या फर्कंदै गर्दा बाटोभरी ‘जय श्री राम’ भन्दै नागरिकले स्वतस्र्फुत अभिनन्दन गरेकै झल्को दिनेगरी मिथिलानगरीमा पचास हजार मानिस उतारेर मोदीको अभिनन्दनको तयारी हुँदैछ । मानौं, रामको ससुराल, राजा जनकको प्राचीन विदेह राज्य (मिथिलाञ्चल)मा कुनै ‘जमाइ राजा’को आगमन हुँदैछ ।

उता, काठमाडौंमा रहेका शासक वर्ग मोदीको अभिनन्दनमा किञ्चित कमी नहोस् भनेर बढी नै ताउरमाउर गरिरहेका छन् । ‘माघ १९’पछि राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनको आयोजना गर्दा ‘स्वच्छ छविका शासक’मा जुन छटपटी र चटारो देखिन्थ्यो, त्यस्तै छटपटी मोदीको अभिनन्दनका लागि आजका ‘क्रान्तिकारी बाम राष्ट्रबादी’ शासकमा देखिँदैछ ।

यो देशमा ‘ख्वामितहरुको’ अभिनन्दन त जारी छ, फरक के मात्र हो भने पहिला ज्ञानेन्द्रको हुन्थ्यो, अचेल मोदीको हुन्छ । उसोभए के हाम्रो सार्वभौमसत्ता नारायणहिटीबाट दिल्लीतिर सरेको हो त ? ‘जनकपुरको विकासको साँचो मोदीलाई सुम्पने’ कुरा हाकाहाकी चलिरहेका बेला यस्तो आशंका उठनु नाजायज पनि त हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *