शनिबार दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको खनाल-नेपाल पक्षको स्थायी कमिटीको बैठकले दुई महिने संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर पुस्तक प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने निर्णय पनि गरेको नेता योगेश भट्टराईले जानकारी दिए।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा आउन आग्रह समेत गरेको छ ।

गत फागुन २८ गते पार्टी अध्यक्ष ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुका साथै जिल्लाहरूमा समानान्तर कमिटी बनाउन सुरु गरेको छ । त्यसपछि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।