सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादीको संसदीय दलको नेताबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ।

सरकारमा जाने विषयमा तीव्र विवादमा फसिरहेको जनता समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक सिंहदरबारमा बसेको बैठकले निचोड दिन नसकेको हो।

जसपा सांसदले बैठकपछि भने, ‘दिनभरी करायो, दक्षिणा हरायो’ भने जस्तै भयो, कुरा नमिलेपछि बिनानिष्कर्ष बैठक सकिएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउने कसरत गरिरहँदा विभाजनतर्फ अघि बढिरहेको जसपा संसदीय दलको बैठक बसेको थियो।

सरकारमा जाने विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग बाक्लो संवाद गरिरहेका थिए। अर्कातिर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो छलफलमा थिए।

ओली जसपालाई ल्याएर बहुमतको १३८ बनाउन चाहन्छन् भने प्रचण्ड कांग्रेस र जसपाको साथ लिएर सरकारमा जाने दाउमा छन्।

ओली-प्रचण्डको आफ्नो आफ्नो दाउको सिकार भइरहेको जसपाले अहिलेसम्म संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन। ओलीले जसपा अध्यक्ष ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भइरहेको छ।

उता जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिरहेका छन्। तानातानमा परेको जसपाले संसदीय दलको नेता र सरकारमा जाँदा सघाउने दलको टुंगो लगाउनुपर्ने थियो।

सत्ता साझेदारीका लागि जसपाले आजै एमालेले बनाएको कार्यदलसँग छलफल गर्ने कार्यक्रम राखेको छ। बैठक लगतै नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेको  बताइएको छ।