२ सय २० जना सासंद भएको नेकपा संसदीय दलमा आधाभन्दा बढी सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पक्षमा उभिएको स्रोतले पुष्टि गरेको छ।

ओली पक्षले शनिबार बालुवाटारमा बेलाएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको सार्वजनिकरुपमा दाबी गरेपनि त्यहाँ उपस्थित एक सांसदले आफ्नो बैठकमा ६० जना मात्रै सांसद उपस्थित भएको दाबी गरेका छन्। ससंदीय दलभित्रको अंकगणितमा कमजोर देखिएकै कारण पनि ओलीलाई सत्तामा बसिरहन अब कठिन हुने आँकलन उनी निकट नेताहरुले नै गर्न थालेका छन् ।

ओलीका विश्वासपात्रहरु रिमाल र पोखरेलले सार्वजनिक सन्जालमार्फत् दिएको सन्देशलाई पनि त्यसैसँग जोडेर हेरिएको छ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको केहीबेरमै ओलीका राजनीतिक सल्लाकार रिमालले शुक्रबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीद्वारा चालिएका तीन कदम इतिहासमा अविस्मरणीय रहने उल्लेख गरेका छन्।

त्यसमा डा. सिके राउतसँगको सहमति पछि पृथकतावादी अभियानको अन्त्य, कालापानी–लिपुलेख–लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन र विप्लव नेतृत्वको नेकपासँग सम्पन्न ऐतिहासिक सम्झौतालाई रिमालले समावेश गरेका थिए । रिमालले त्यसका लागि सबैलाई बधाई तथा शुभकामना समेत भन्न भ्याएका छन्।

नेता पोखरेलले पनि शनिवार ओलीका पालामा भएका कामको फेहरिस्त नै तयार पारि सामाजिक सञ्जालमा राखेका छन्। उनले ओलीबाट संविधान निर्माण, पार्टी एकतादेखि कोरोना महामारी नियन्त्रणसम्मको काम भएको तर हाल आएर उनलाई चौतर्फी घेरामा पारिएको र पार्टी एकतासमेत संकटग्रस्त बनेको बताएका छन्।

अर्कोतिर यही समयमा दुई चिरामा विभक्त नेकपालाई एक बनाउन तीव्र प्रयासमा पोखरेल आफै संलग्न छन् । तर, उनै पोखरेलद्वारा ओली सरकारका उपलब्धि सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिनुलाई ओलीको बर्हिगमनको पूर्व संकेत रुपमा पनि हेरिएको छ ।