युद्ध हामीले जित्छौं, अदालतले सही फैसला गर्छः प्रचण्ड

काठमाडौंमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले धेरै दुःख गरेर पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै त्यसलाई विभाजन गर्न प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।
‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीलाई पनि फुटतिर लैजानुभयो । संविधान र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्दै प्रचण्डले ५ पुसपछि आफूहरु रक्तपातविहीन नयाँ प्रकारको युद्धमा रहेको बताए । ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ,’ उनले भने ।
संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ । हामीले नै जित्छौं,’ प्रचण्डले भने ।