काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन पनि आग्रह गरेका छन् ।

‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु’, विप्लव समूहको नाम नलिइ उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु सानातिना मतभेदलाई छाडेर हामी अगाडि बढौँ। हिंसाको बाटोमा हिँडिरहेका शक्तिहरूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आउन आग्रह गर्दछु।’

उनले लोकतन्त्रलाई कु-बाटोमा धकेल्ने चेष्टाहरुलाई रोक्ने पनि जिकिर गरे। प्रधानमन्त्रीले निर्वाचनको तयारीमा लाग्न पनि सबै निकायलाई निर्देशन दिएका छन्। देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जानु परेको जिकिर उनले गरे।

ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमतभन्दा बाहिर नजाने बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने पनि बताएका छन्।

‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन,’ ओलीले भने, ‘यो सरकार भ्रष्टाचार गर्दैन, सुशासन कायम गरेर छोड्छ ।’

उनले यस्तो बेलामा कसैले पनि कुनै अलमल गर्नुपर्ने जरुरी नरहेको बताए। ‘हामीले अलमल गर्नुपर्ने कुनै कारण छैन। तनावयुक्त रुपमा अस्वस्थ ढंगले काम गर्नु जरुरी छैन’, उनले भने, ‘हामीले यति बेला कुनै पनि प्रकारको अलमलमा नपरी विगतका बलिदानलाई सम्झिएर गौरवपूर्ण ढंगले अघि बढ्नुपर्ने अवस्था छ।’