नेकपाका दुबै समुहले आधिकारिक मान्यता नपाउने – निर्वाचन आयोग

दुई समूहमा विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले अलग–अलग मान्यता नदिने भएको छ ।

दुबै पक्षले दिएको जवाफमा सन्तुष्ट हुन नसकेको भन्दै निर्वाचन आयोगले ऐनकानून र पार्टीको विधान अनुसार एउटै नेकपा चिन्ने निष्कर्ष निकालेको छ ।आयोगको यो निर्णयअनुसार नेकपाका दुबै समूहले आधिकारिक पार्टीको मान्यता नपाउने भएका छन् ।

पार्टीको विधानानुसार सोधिएको प्रश्नमा दुबै समूहबाट सन्तुष्ट हुने जवाफ नआएकाले अलग–अलग मान्यता दिन नसकिने आयोग स्रोतको भनाइ छ । आयोगले नेकपाका प्रचण्ड–माधव समूह र अर्को ओली समूहलाई पार्टीको आधिकारिकताका लागि राजनीतिक दल ऐन र नेकपाको विधान अनुसार प्रश्न सोधेको थियो ।

दुबै समूहले आफूहरु नै आधिकारिक भएकाले थप जवाफ दिनुनपर्ने अडान राखेका थिए । दुबै समूह पार्टी विभाजनको दोष बोक्न चाहदैनन् । दुबै समूहको निर्णय अवैधानिक भएकाले औपचारिकरुपमा नेकपा एउटै रहेको आयोगले निष्कर्ष निकालेको छ ।

आयोगसँग भएको हालको रेकर्डमा नेकपामा अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ नै छन् । पदाधिकारीहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल कायमै रहेकाले उनी अध्यक्ष भएको विषयले बैधानिकता नपाउने आयोगको हालसम्मको ठहर रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा व्यवहारिकरुपमा विभाजित बनेकोछ । दुबै समूहले छुट्टा–छुट्टै केन्द्रीय कमिटी, स्थायी कमिटी बैठक तथा कार्यकर्ता भेलाहरु गर्दै आएका छन् । तर, कानूनीरुपमा दुबै समूह अहिले पनि एउटै दलका रुपमा रहेका छन् । प्रचण्ड–माधव समूहले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाएको छ ।

ओली समूहले पनि कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटाएको भनेको छ । दुबै समूहले अहिले नेकपाको एउटै लेटरप्याड, छाप, चुनाव चिन्ह प्रयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *