काठमाडौं : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहनिकट सबै तहका कमिटी सदस्यहरुलाई निर्देशनसहित परिपत्र गरेका छन्।

प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारी भइरहेकाले निर्वाचन आयोगको कार्यतालिकालाई सहयोग गर्न सबै कमिटीहरूलाई निर्देशन दिएका छन्।

उनले मुलुक लामो समयसम्म जनप्रतिनिधि संस्थाविहीन अवस्थामा रहन नसक्ने भएकाले वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको बताउँदै त्यो निर्वाचनको तयारी थाल्न पनि पार्टी कमिटीहरूलाई निर्देशन दिएका छन्।

निर्वाचन आयोगले राजनीतिक दलसँग परामर्श गरेर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने पत्र प्राप्त भएको जानकारी गराउँदै ओलीले माघ १५ गते देशभरीका सबै पालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशित हुने बताएका छन्। उनले त्यसमाथि १६, १७ र १८ गते उजुरी दिने मिति निर्धारण भएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगलगायत राज्यका सम्बद्ध निकायहरु निर्वाचनको तयारीमा जुटिसकेका छन्। निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श शुरु गरिसकेको छ। छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक हुने जानकारी दिएको छ’, विशेष परिपत्रमा भनिएको छ, ‘मतदाता नामावलीमा कुनै मतदाताको विवरण हटाउनुपर्ने भए त्यसका लागि उजुरी निवेदन दिने प्रयोजनका लागि माघ १६, १७ र १८ गतेको मिति निर्धारण भएको छ। त्यस अवधिभित्र आ-आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन, झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तै नामावली हटाउन र दोहोरो नाम हटाउन निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ।’

उनले त्यही कामका लागि सबै तहका कमिटी सदस्यहरुलाई योजनाबद्ध, सक्रिय एवम् प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले आगामी निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणा पत्रमा समेट्नुपर्ने विषयबारे सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरुलाई फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन दिएका छन्।