काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिएका छन् । पार्टीले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले कुर्सी पाउनका लागि केपी ओलीले जस्तोसूकै सहमति गर्ने बताए ।

ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको तर यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको उनले बताए ।

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको प्रचण्डले बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।