नेकपा बन्नुभन्दा पहिले नै दुईवटा पार्टी माओवादी केन्द्र र नेकपा एमाले नामका पार्टी थिए। पार्टी मिल्नु भन्दा पहिला दुईवटा पार्टी नै कम्युनिस्ट पार्टीको आदर्श, सिद्धान्त र आचरणबाट च्युत भइसकेका थिए। ती मूलतः पुँजीवादी भइसकेका पार्टीहरू थिए। 

नेपाली राजनीतिको ७० वर्षे इतिहासमा विभिन्न कम्युनिस्ट धारहरूबाट भएका संघर्षका प्रभावले ठूलो जनमत कम्युनिस्टको पक्षमा, वामपन्थीको पक्षमा रहँदै आएको छ।

त्यसलाई प्रभावित पार्नका लागि पुँजीवादी पार्टीहरूले पनि कम्युनिस्ट नाम राख्न लोभिएका हुन्।  तर उनीहरू त्यो विचारमा छँदै थिएनन्।

दुई उदारण हेरौँ–ः

एक : त्यो पार्टी बन्ने बेलामा पार्टीका अध्यक्ष केपी ओलीले एक दैनिक पत्रिकामा दिएको अन्तवार्तामा अब बन्ने पार्टी कम्युनिस्ट पार्टी पनि हुनेछैन, वामपन्थी पनि हुनेछैन भनेर स्पष्ट पारेका थिए। त्यो पार्टीभित्र त्यसको कसैले खण्डन वा विरोध गरेका थिएनन्।

अर्को : सुरुमा चुनावी गठबन्धन हुँदै पार्टी एकता गर्ने भन्दा त्यसमा बाबुराम भट्टराई पनि सामेल थिए। त्यसबेला बाबुरामले पार्टीको नाम चाँही कम्युनिस्ट राख्नु हुँदैन भन्ने प्रस्ताव गरेका थिए।

अहिले नै यसलाई नटुंग्याउँ, पहिले आ–आफ्नो पार्टीमा छलफल गरौँ भन्ने कुरा भएको थियो। यसको मतलब नाममा कम्युनिस्ट पार्टी नै नराख्ने कुरामा पनि त्यति विमति हुने स्थिति थिएन।

यो यथार्थले पनि सहजै बताउँछ की उनीहरूले बनाएको नेकपा नामको पार्टी कम्युनिस्ट पार्टी थिएन र होइन।

कम्युनिस्ट नामलाई ट्रेडमार्क मात्रै बनाइएको थियो। पहिले मनमोहन अधिकारीले पनि भन्नु भएको थियो कम्युनिस्ट नाम त ट्रेडमार्क मात्रै हो भनेर। त्यो त्यसकै निरन्तरता थियो।

त्यो कम्युनिस्टको एकता थिएन।

त्यो पार्टीका नेताहरूको साँठगाँठ कुन वर्गका व्यक्तिहरूसँग हुने गर्थ्यो, हुने गर्छ ? त्यो पार्टीको नेतृत्वमा बनेको सरकारले कुन वर्गको संरक्षण गरिरहेको छ ? त्यो त सबै सामु छर्लङ्गै छ।

त्यो पार्टीका दुवै खेमाभित्र कम्युनिस्ट चरित्र भएका थुप्रै मान्छेहरू पनि छन्। कम्युनिस्ट पार्टी बनाउनु पर्छ, कम्युनिस्ट भएर मर्नुपर्छ, यसैलाई कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्नुपर्छ भन्ने, पहल गर्न चाहने, रुची राख्ने पनि त्यहाँ छन्।

यसबाहेक समग्रमा मूल्यांकन गर्दा त्यसलाई कम्युनिस्ट पार्टी मान्न सक्ने कुनै आधार भेटिँदैन।

कम्युनिस्ट पार्टी नभएकाले त्यहाँ भित्र हुने त पुँजीवादी संघर्ष हो। पुँजीवादी संघर्ष भनेको के हो भने ? विभिन्न आर्थिक समूहहरूले सत्ता र शक्तिमा पुगेर अर्थ संकलन गर्ने अनि त्यसलाई जीवनयापन र राजनीतिको वैभवका लागि प्रयोग गर्छ।

त्यस्ता पार्टीभित्रका गुट भनेका आर्थिक शक्तिहरू हुन्। कम्युनिस्ट पार्टीका राजनीतिक गुट भनेको त विचारको आधारमा, राजनीतिका आधारमा बन्छ।

त्यो एउटा राजनीतिक षडयन्त्रका लागि खडा भएको समूह हुन्छ।

पुँजीवादी पार्टीमा भएको गुटको फरक राजनीति पनि हुँदैन। भागबण्डामा गुट हुन्छ। पुँजीवादी पार्टीमा भागबण्डा भनेको पैसा कमाउने भागबण्डा भनेको हो।

चुनावको तयारीका लागि, शक्तिमा रहि रहनका लागि करोडौँ रुपैयाँ चाहिन्छ त्यो जम्मा गर्नुपर्‍यो। त्यो कहाँबाट जम्मा गर्ने ? कुनै व्यवसाय, उद्योग त छैन उनीहरूको। कमिसन र भ्रष्टाचारबाट जम्मा गर्ने हो। त्यसैले त्यो आर्थिक समूह हो।

त्यस्ता पुँजीवादी पार्टीका आर्थिक समूहभित्र सत्ता, शक्ति र लाभांश संकलनका लागि जहिले पनि संघर्ष भइरहन्छ।

यस्तो मौका पारेर त्यस्ता पार्टीभित्र विदेशी शक्तिहरूले पनि आफ्नो खेल खेल्छन्।  संघर्ष चलेका बेलामा खेल्न सजिलो हुन्छ।

यस्तो बेलामा कहिले ती फुट्ने स्थितिसम्म पुग्छन्। कहिले जुट्ने अवस्थामा पुग्छन्। भएको अहिले त्यति नै हो।