अमेरिकामा टम्पको संसद ‘कु’ गर्ने प्रयास असफल, विश्व नेताहरुले गरे आलोचना

अमेरिकाको वासिङ्टनस्थित संसदमा चुनावमा पराजित डोनाल्ड टम्पका समर्थकद्धारा गर्न खोजिएको कुको प्रयासलाई विश्व नेताहरुले गरेको आलोचना गरेका छन् ।

यो घटना प्रजातन्त्रमाथिको सबैभन्दा ठूलो हमला भएको बताउँदै सत्ता हस्तान्तरणको कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबैले अपील गरेका हुन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले यसलाई अत्यन्तै शर्मनाक घटना भन्दै निन्दा गरेका हुन् ।

स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरगनले पनि ती दृश्यहरु भयावह भएको प्रतिक्रिया दिएकी छन् ।

स्पेनका प्रधानमन्त्रीले चाहिँ आफू अझै पनि अमेरिकी प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने भन्दै ट्वीट गरेका छन् र जो बाइडेनको नयाँ प्रशासनले यस तनावग्रस्त माहोलबाट देशलाई बाहिर निकाल्दै अमेरिकी जनतालाई एकिकृत गर्ने बताएका हुन् ।

जर्मनीका विदेश मन्त्रीले चाहिँ ट्रम्प र उनका समर्थकहरुले चुनावको हार स्वीकार गर्नैपर्ने बताउँदै अमेरिकी मतादाताहरुलाई विश्वास गरि प्रजातन्त्रलाई कुल्चिन नदिन अपील गरेका हुन् ।

युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स माइकेलले पनि अमेरिकाले शक्ति हस्तान्तरण शान्तिपूर्ण ढङ्गमा हुने सुनिश्चित गर्न सक्नेमा विश्वास जनाएका हुन् ।

उता युरोपेली युनियनकी प्रमुख उर्सला भोनले चाहिँ डेमोक्रेट र बाइडेनसँग आगामी दिनहरुमा साथ काम गर्ने अपेक्षा जनाएकी छन् ।

नाटोका सचिव जेनेरल जेन्स स्टोल्टनबर्गले निर्वाचनको परिणामलाई सम्मान गर्न अपील गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्युले चाहिँ प्रजातन्त्रमाथि सिधा हमला भएको देखेर आफू अत्यन्तै दुःखी र निराश भएको बताएका हुन् ।

अष्ट्रेलियाका प्रधामन्त्री स्कट मरिसनले पनि ती हिंसात्मक दृश्यहरु भयावह रहेको भन्दै आफूले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेमा विश्वास रेहको बताएका हुन् ।

टर्कीका विदेश मन्त्रीले सबै पक्षलाई ‘कमन सेन्स’ प्रयोग गर्न भनेका हुन् । भेनेजुएला सरकारले चाहिँ हालका गतिविधि शर्मनाक र पश्चातापपूर्ण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *