दाहाल–नेपाल पक्षको स्थायी समिति बैठक, के निर्णय होला?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले आज पनि निरन्तरता पाउने भएको छ । केही दिनदेखि पेरिसडाँडामा जारी बैठकले आज केही नेताको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले आज पनि निरन्तरता पाउने भएको छ । केही दिनदेखि पेरिसडाँडामा जारी बैठकले आज केही नेताको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय थियो । नेकपाको सोमबारको बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेश मुख्यमन्त्री एवं प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई ‘प्रदेश इन्चार्ज’बाट मुक्त गरिएको छ ।
लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेश इन्चार्जमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्ध जारी आन्दोलनका लागि गठित केन्द्रीय संघर्ष समिति सहसंयोजकमा तीन नेतालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
समिति सहसंयोजकमा नेतात्रय योगेश भट्टराई, गणेश साह र पम्फा भुसाललाई जिम्मेवारी दिइएको छ । संघर्ष समिति संयोजकमा यसअघि नै सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको बाँकी काम टुंगो लगाउन तथा नेताका जिम्मेवारी बाँडफाँडका लागि गठित कार्यदल बैठक आज मंगलबार बस्दैछ ।