नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गरिने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।  यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । 

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको प्रतियोगिता निर्धारित समयमा हुन नसक्ने बताए । कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनको भनाइ थियो ।

प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले मिति सार्नुपरेको उनको भनाइ थियो ।

कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले बताए ।

खेल संघहरूलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहको भनाइ थियो ।

नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नु अघि वृहत छलफल गर्नु आवश्यक रहेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।