काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएको छ ।

सबै स्थानीय तहका कार्यकर्तामाझ पुग्ने गरी सात वटै प्रदेशमा राजनीतिक प्रस्ताव पठाइएको हो । प्रचण्डले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थनमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेका थिए ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमाप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बहुमतको निर्णय नमानेको जस्ता आरोप लगाइएका छन् । साथै ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा गुटबन्दीको अभ्यास गरेको भन्दै पार्टी पदहरू निजी सम्पत्ति झैं वितरण गर्दै षड्यन्त्रपूर्ण क्रियाकलाप र गुटबन्दीपूर्ण सत्ताको खेलमा लागेको ठहर गरेका छन् । प्रधानमन्त्रीको यस्ता क्रियाकलापले पार्टीका कार्यकर्ता र सदस्यहरू दुखित भएको र जनता असन्तुष्ट बन्दै गएको समेत प्रचण्डले प्रतिवेदनमा भनेका छन् ।

प्रचण्डको प्रस्तावविरुद्व नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि मंसिर १३ गते बस्ने सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गर्नेछन् । उक्त बैठकमा सबै प्रस्ताव र पार्टी विवादबारे छलफल हुनेछ । त्यस पछि ओलिको राजनीतिक प्रस्ताव पछि जानेछ ।