काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान : सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि हुन वाङ नेपाल आउन लागेका हुन् ।

वाङ उक्त कार्यक्रमको समापन समारोहमा सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नोभेम्बर २० देखि २६ तारिखसम्म हुने सो कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा तस्बिर, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री प्रदर्शन गरिनेछ ।