प्रचण्डपक्ष टसमस नभएपछि ओलीले यस्तो कदम चाल्ने सक्ने ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादको केन्द्र कुनै खास एजेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न खोजिरहेका छन् । यसका लागि उनीहरुले योजनाबद्ध तरिकाले मोर्चाबन्दी गरी सक्रियता बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री ओली कुनै हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् । बरु उनी कठोर कदम चालेर अगाडि बढ्ने तयारीमा छन् । ओली निकट नेताहरुले पछिल्लो पटक सार्वजनिक गरेको विषयबाट यही संकेत मिल्छ । आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा एकता अप्ठ्यारोमा परेको सामाजिक सञ्जालमा लेखे । यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलका अलावा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी विभाजनको खतरामा रहेको देखि दुर्घटनाको खतरा समेत औल्याएर सामाजिक सञ्जालमा लेखिसकेका छन् ।

सत्ताधारी नेकपाभित्र अहिले चलेको शक्तिसंघर्षमा सत्ता केन्द्रबिन्दुमा रहेपछि ओली, प्रचण्ड र माधव नेपाल निकट नेताहरुले सामाजिक सञ्जालमा शब्दको युद्ध गरिरहेका छन् । यसबाट पनि सत्ताधारी नेकपा दुर्घटनाको नजिक रहेको देखिदैछ । ओली सत्ता छाड्नुपरे कडा कदम चाल्ने सम्मको तयारीमा रहेको पछिल्ला धारणाबाट बुझ्न सकिन्छ ।

सत्ताधारी नेकपाभित्र विकसित घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सामु पदबाट राजीनामा दिने या पार्टी फुटाउनेबाहेक तेस्रो विकल्प कमजोर बनेको छ । उनले आफ्ना विरोधीलाई फुटाउने, थकाउने, कमजोर बनाउने देखि सबै रणनीतिक प्रयास गरेपनि सफल भइरहेको छैन । ओलीविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका बहुमत सचिवालय सदस्य एकमत भएका छन् । उनीहरु कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने तर्फ बढेका छन् ।

पार्टी बैठक डाकेर ओलीविरुद्ध कडा निर्णय लिने तयारी प्रचण्ड र माधव नेपाल समूहको छ । यो बुझेर ओलीले कहिले प्रचण्ड त कहिले माधव नेपाल त कहिले वामदेव गौतमसँग भेटेर वा विश्वासपात्र खटाएर राजनीतिक लेनदेनको प्रस्ताव पठाए । तर, यसपटक प्रचण्ड र नेपाल टसमस भएनन् । बरु ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको कदम चाल्ने तयारीमा लागे ।

अब ओलीलाई कारबाही गर्ने या राजीनामा गर्न वाध्य पार्ने प्रचण्डसहितको नेताहरुको तयारी छ । तर, ओलीले जुनसुकै परिस्थितिको सामना गरेर भएपनि राजीनामा नदिने अडान राखेका छन् । सत्ताधारी नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्ड दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए कारबाहीको निर्णय गर्ने प्रचण्डको तयारी छ ।

ओली पनि प्रचण्डलगातका नेतालाई कारबाही सम्म गर्न तयारीमा जुटेका छन् । दुवैले कानुनविद्हरुसँग परामर्श गरिसकेका छन् । यो भविष्यमा पार्टी फुट्ने परिस्थिति समेतको आँकलन गरी गरिएको परामर्शका रुपमा बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *