अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले जितेको स्वीकार गरेका छन् र यसबारे लेखेका छन् । तर, उनले यसमा जो बाइडेनको नाम लिएका छैनन् ।

उनले यो स्वीकार गरे पनि यो निर्वाचनमा धाँधली भएको उनको आरोप पनि सँगै राखेका छन् ।

आइतबारको एक ट्विटमा डोनाल्ड ट्रम्पले लेखेका छन्– उनीहरुले चुनाव जितेका छन्, किनकि चुनावमा धाँधली भएको छ ।

३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा प्रचण्ड बहुमतसँगै जो बाइडेनले निर्वाचन जिते पनि डोनाल्ड ट्रम्पले अहिलेसम्म आधिकारिक रुपमा हार स्वीकार गरेका छैनन् ।

ट्रम्पले केही राज्यमा कानुनी लडाइँ सुरु गरेका छन् । तर, अहिलेसम्म आफूले धाँधली भएको आरोपमा कुनै प्रमाण पेश गर्न सकेका छैनन् ।

अहिले त उनले फेक न्युजहरुका कारण बाइडेनले जितेको नतिजा आइरहेको बताएका छन् ।