काठमाडौँ – बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्।

बिहीबार राति १० बजेतिर बैतडीको खोड्पे नजिकै यो दुर्घटना भएको हो।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको अधिकारीले बताए। मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अधिकारीले बताए।