किन टल्कन छाड्यो माछापुच्छ्रे ?

आजभोलि पोखरेलीका सामाजिक सञ्जाल फेसबुक पेज माछापुच्छ्रे हिमालका तस्बिरले रङ्गिएका देखिन्छन् । तस्बिरसँगै धेरैले हिउँ नभएको हिमाल भन्दै चिन्ता व्यक्त गरेका छन् । यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई चिन्तित बनाउनु स्वाभाविक हो ।बिहान उठ्ने बित्तिकै मुस्कुराइरहेको माछापुच्छ्रे देखिँदा दिनभर नै ऊर्जा मिल्ने अनुभवसहित जीवनका सात दशक बिताइसकेका पोखराका अग्रज साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्य अहिलेजस्तो माछापुच्छ्रेको उराठलाग्दो रुप कहिल्यै नदेखेको बताउँछन् । “मैले यो उमेरसम्म यस्तो अवस्थाको माछापुच्छ्रे देखेको थिइनँ । हिउँदको समयमा माछापुच्छ्रे छपक्क हिउँ त हुँदैन तर अहिले यस्तो कालो त यसअघि कहिल्यै देखिएको थिएन, घरको छतबाट हेर्दा कालापत्थरको चुच्चो जस्तो देख्छु ।”
भूगोलका विद्यार्थी शाक्यले भने, “यसअघि हिउँदमा पनि हिमालमा चिस्यान हुन्थ्यो र हिउँ नै नभए पनि माछापुच्छ्रे स्वरुप यति बिरुप अहिलेसम्म देखिएको थिएन ।”
भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छ्रे हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउँछन्, यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उनले बताए । “भिरालो भएकाले लपक्कै हिउँ कहिल्यै पनि देखिएन, तर अहिले अलि बढी नै कालो देखिएको सत्य हो ।”
अहिले उद्योग कलकारखाना बन्द छन् । वातावरणमा प्रत्यक्ष असर पार्ने ग्याँस उत्पादन भएको छैन, प्रदूषण कम छ, मौसम पनि राम्रो छ । यो वर्ष निरन्तर पानी परेका कारणले हिमालमा हिउँ जम्न पाएन, जसका कारण हिमाल हिउँबिहीन देखिएको उनको बुझाइ छ ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले माछापुच्छ्रे तुलनात्मक रुपमा पहिलैदेखि नै कम हिउँ पर्ने हिमाल भएको बताए ।
पोखरा पत्रकार कृष्णमणि बरालले अहिले सामाजिक सञ्जालमा माछापुच्छ्रे हिउँ छैन भनेर प्रचार गरिएपनि यसअघिका वर्षमा पनि यो समयमा माछापुच्छ्रेमा बाक्लो हिउँ नहुने गरेकाे बताए ।