कोरोना महामारीकै बीच उपत्यकाबाट दसैं मान्न जिल्लाजिल्लामा पुगेर पुनः काठमाडौं फर्किनेको संख्या बढेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैं मनाएर काठमाडौं फर्कनेको संख्या बढ्दै गएको हो । गएको २४ घण्टामा २४ हजार ३६ जना विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गरेका छन् ।

काठमाडौं छोड्ने र भित्रिनेको संख्या उस्तैउस्तै रहेको छ । मशाखाका अनुसार २० हजार ३ सय ५५ जनाले काठमाडौं छाडेका छन् । बुधबार १५ हजार २ सय १२ जना र मंगलबार ९ हजार ९ सय ६० जना काठमाडौं आएको महाशाखाले जनाएको छ ।​

दसैंको अवसरमा यो वर्ष कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम भएकाले विगत वर्षको तुलनामा कमले मात्रै उपत्यका छाडेका थिए । ​

दसैं मान्न उपत्यका बाहिर गएकाहरु अहिले दसैं मनाएर काठमाडौं फर्किन थालेका हुन् । उनीहरु फर्कने क्रम सुरु भएसँगै दसैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको भन्दै सरकारले जहाँ छौँ त्यही बसेर दसैं मान्न आम नागरिकलाई आह्वान गरे पनि अधिकांश सर्वसाधारण जिल्ला जिल्लामा पुगेर दसैं मानेर फर्किएका हुन् । यसले गाउँदेखि सहरसम्म कोरोना संक्रमण फैलन खतरा भने बढेको छ ।