राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी सार्वजनिक गर्ने उद्देश्यले सञ्चालित ट्विटर अकाउन्ट अचानक बन्द गरिएको छ । 

राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल @ShitalNiwas​ बुधबार एक्कासि बन्द गरिएको हो ।

सो ट्विटर ह्याण्डलमा प्राविधिक समस्या आएकाले बन्द गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिएका छन् ।

उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas​ ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ। कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौँ। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।’