सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सर्न सक्ने अनुमान गर्न थालिएको छ । नेकपा शीर्ष नेताहरुले नै अहिले टुङ्ग्याउनु पर्ने विषयमा छलफल सुरुवात नै नगरेकाले यो बैठक पछाडि सर्न सक्ने अनुमान गर्न थालिएको हो । 

अर्कोतिर, काठमाडौं उपत्यकामा कोरोनाभाइरस महामारीको प्रभाव बढ्दै जाँदा पनि यो बैठक सर्न सक्ने अनुमान गरिएको हो ।

१५ कात्तिकबाट सुरु हुने भनिएको बैठक सर्नेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय चाहिँ भएको छैन ।

‘पछिल्लो समय अरु विवादहरुले नेताहरुलाई व्यस्त बनाएको छ, कर्णाली प्रदेश तथा अन्य ठाउँमा देखिएका विवादका कारण आगामी महाधिवेशनको कार्ययोजना समेत तयार भएको छैन,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले यसपटक बोलाइएको केन्द्रीय कमिटी बैठक सर्न सक्ने सम्भावना बढेको छ ।’

४ सय ४७ जना केन्द्रीय सदस्य रहेको नेकपाको केन्द्रीय पूर्ण बैठक बारम्बार माग भएको छ । पछिल्लो समय नेकपामा देखिएको विवादपछि केन्द्रीय सदस्यहरुले बैठकको माग गरे पनि यो बस्न सकेको छैन ।

यसअघि नेकपा विवाद मिलाउन बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक १५ गतेदेखि गर्ने निर्णय गरेको थियो । यो बैठकमा महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्ने योजना बनेको थियो । तर, अहिलेसम्म यस विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन सकेको छैन ।

त्यसैले पनि यो बैठक सर्न सक्ने अनुमान बलियो भएको छ । त्यसमाथि केही दिन मात्र बाँकी हुँदा पनि अझै पनि केन्द्रीय सदस्यहरुलाई बैठकबारे सूचना पुगिसकेको छैन । यसले बैठक फेरि सर्न सक्ने आशंका बढाएको छ । केन्द्रीय कमिटी बैठक अनिश्चित हुनुुुको मुुुख्य कारण प्रचण्ड र ओलि बीचको विवाद नै रहेको एक केन्द्रीय सदस्यले अग्निज्वाला लाई बताए । अब केन्द्रीय कमिटी बैठक मंसिरमा बस्ने भनीए पनि प्रचण्ड र ओलि बीचको विवाद कायमै रहे अनिश्चित बन्ने निश्चित छ ।