चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक ,अमेरिका र भारतसँगको सम्बन्ध बारे छलफल

आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक भएको छ ।

सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा चलिरहेको छ ।

भारत र अमेरिकासँग बढ्दो द्वन्द्व र कोभिड–१९ का कारण विश्व नै आक्रान्त भइरहेको समयमा बस्न लागेको सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

अर्काेतर्फ अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सो बैठक हुन गइरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र  जो बाइडन दुवैले चीनप्रति आक्रामक हुने छनक दिइसकेका छन् ।

सो बैठकले आगामी सन् २०३५ सम्मको भिजनसमेत तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उदाउँदो शक्ति चीनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत सो बैठकले तय गर्नेछ ।

सो बैठकले पार्टीको मामिलामा केन्द्रीय समितिलाई अझ धेरै अधिकार दिने र त्यसमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङ अझै शक्तिशाली हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *