बिबिसी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असर सबै क्षेत्रमा परेको छ । युद्ध मैदानमा सिपाही घाइते भए पनि लडाईं लड्न छोड्दैन । कोरोना संकटका योद्धा भनेका स्वास्थ्यकर्मी र चिकित्सक हुन् । 

विश्वव्यापी महामारी तिब्र रुपमा बढ्दै गर्दा बेल्जियममा कोरोना पोजेटिभ रिपोर्ट आएपनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अपील गरिएको छ ।

धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि त्यहाँ लक्षण नभएका स्वास्थ्यकर्मीलाई काममा निरन्तरता दिन अपील गरिएको हो । बीबीसीले उल्लेख गरे अनुसार बेल्जियमका १० अस्पतालले लक्षण नभएका संक्रमितलाई काममा निरन्तरता दिन अपील गरेका हुन् ।

अस्पतालको यो निर्णयले सर्वसाधारणलाई पनि कोरोना सर्ने जोखिम भने बढेको छ । बेल्जियमको पूर्वी सहरमा अहिले ३ मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । अस्पतालहरुले बिरामी अन्तै पठाउनेदेखि आकस्मिकबाहेक शल्यक्रिया सार्दै आएका छन् ।

त्यहाँ अहिलेसम्म तीन लाख २१ हजार बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजारमा संक्रमण देखिएको वल्डोमिटरले जनाएको छ । कोरोनाले बेल्जियममा १० हजार बढीको मृत्यु भइसकेको छ ।