चिनियाँ पक्ष ओली सरकारसँग असन्तुष्ट

नेपाल र चीनबीच भएका सम्झौतालाई कार्यान्वयनमा नलगेपछि चिनियाँ पक्ष ओली सरकारसँग असन्तुष्ट भएको बुझिएको छ ।

चीनबाट पटक–पटक आएका आपसी सहयोगका प्रतिबद्धता र चीनका राष्ट्रपतिबाट भएको नेपाल भ्रमणको क्रममा जनाइएका प्रतिबद्धताहरू अहिलेसम्म कार्यान्वयनको सुरुवातसम्म पनि भएका छैनन् ।

यसले ओली सरकारले चीनलाई कूटनीतिक रूपमा विश्वासमा लिन नसकेको स्पष्ट संकेत गरेको छ । नेपाल चीनको सबैभन्दा नजिकी छिमेकी, सदीऔंदेखिको सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको राष्ट्र भए पनि दक्षिण एसियाका अन्य राष्ट्र बंगलादेश, श्रीलंका र पाकिस्तानले पाएको स्तरको सहयोग नेपालले पाउन सकेको छैन ।

नेकपा र चीनको कम्युनिष्ट पार्टीबीच भर्चुअल रूपमा संयुक्त मिटिङ भएर सहरूपमा अघि बढ्ने सहमति भए पनि चिनियाँ पक्षले नेकपा नेतृत्वको ओली सरकारलाई विश्वास गर्न नसकेको स्पष्ट भएको छ ।

हुन त हिजो सत्तारुढ दल नेकपा र चीनको कम्युनिष्ट पार्टीबीच भर्चुअल रूपमा बैठक भएको छ । सो बैठक हिमालय बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा छलफलका लागि बसेको बताइएको छ । सोही बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् ।

प्रधानमन्त्रीले यस्तो बताए पनि पहिलेदेखि चीनको तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना र दुई देशबीच भएका उच्चस्तरीय भ्रमणका क्रममा प्रतिबद्धता जनाइएका आयोजनाको सुरुवातको चरण पनि सुरु नभएकाले नेकपा सरकारले जति हल्ला गरे पनि चीन सरकारको विश्वास जित्न असफल भएको हो कि भन्ने आसंका उब्जाएको हो ।

चीन सरकारले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मा नेपालले २०१७ मै सहमतिमा हस्ताक्षर गरेको थियो भने २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा पनि सो सम्बन्धमा सहमति भएको थियो । यति ठूलो महत्व दिइएको बेल्ट एन्ड रोड योजना नेपालले कुन क्षेत्र र कहाँ विकासका लागि अघिसार्ने भन्ने निधो गर्न पनि सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीले हिमालयपार रेलवे सञ्जाल अब सुरु हुने आशा व्यक्त गरेका छन् । यो परियोजनाको चर्चा हुँदै आएको धेरै पहिलेदेखि नै हो । नेपालका राष्ट्रपतिको चीन भ्रमण, केपी ओलीको भ्रमण तथा चिनियाँ राष्ट्रपनि सी चिनफिङको ७० वर्षपछि भएको महत्वपूर्ण भ्रमणमा समेत प्रतिबद्धता जनाइएको भए पनि अझै सुरु हुन सकेको छैन । सो परियोजनाका लागि नेपालले सबै रूपमा चीनले बनाइदेओस् भन्ने चाहेको छ तर सो परियोजनाका लागि अध्ययन पनि पूरा भएको छैन ।

अन्य आयोजनाहरूमा काठमाडो, पोखरा, लुम्बिनी रेलमार्ग, जिलोङ÷केरुङ सुख्खा बन्दरगाह, तातोपानीमा बहुआयामिक उपयोग प्रयोगशाला जस्ता परियोजनाको काम नै सुरु भएका छैनन् । त्यस्तै नेपालमा चिनियाँ बैंकका शाखाहरू खोल्ने सहमति भएकोमा अझै सुरु भएका छ्रनन् । त्यस्तै मदनभण्डारीको नाममा खोलिने भनिएको मदनभण्डारी विश्वविद्यालयमा चीनको सहयोगमा निर्माण हुने सहमति भएकोमा सुरु हुने अझै कुनै सुरसार छैन ।

यति मात्रै होइन चीनका राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा चीनको विशेष सहयोग हुने भनिरहे पनि दक्षिण एसियाका अन्य राष्ट्रले लिए जत्तिको सहयोग पनि लिन सकेको देखिएको छैन । अझ नेकपाका अध्यक्ष केपी ओलीले चीनबाट उपलब्ध भएका बन्दरगाह उपयोग गरेर विश्व बजारमा पहुँच पुर्याउने, चीनबाट पेट्रोलियम पदार्थ आयात गरेर भारतसँगको निर्भरता कम गर्ने बताए पनि तिनको प्रगति शून्य छ ।

चीनबाट भइरहेका सामान्य सहयोगको निरन्तरता भए पनि नेपालको आर्थिक अवस्था परिवर्तन नै हुने गरी कुनै पनि योजना सञ्चालन हुन सकेका छैनन् । नेपालमा कम्युनिष्ट बहुमतको बलियो मानिएको सरकार भए पनि र प्रधानमन्त्री चीनप्रति बढी आशावादी भए पनि चीनलाई पूर्ण विश्वासमा लिन नसक्दा चीन पर्खौं र हेरौ भन्ने मानसिकतामा रहेको देखिएको छ ।

अझ केपी ओली सरकार सधै आन्तरिक खिचातानीमा रुमल्लिइरहँदा छिमेकी राष्ट्रको विश्वास र भरोसा झन् कमजोर हुँदै जाने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *