राष्ट्रिय मानव अधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । जसमा धेरै जसो सुरक्षाकर्मी तथा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ता छन् । 

आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यसमा दुई सय ८६ जनाको नाम पनि किटान गरेको हो । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सिफारिस गरिएका एक हजार एक सय ९५ वटा घटनाको विवरण राखिएको छ ।

२० वर्षको अवधिमा आयोगमा १२ हजार ८ सय २५ उजुरी परेको र त्यसमध्ये ६ हजार ६ सय १८ आयोगले फर्छ्योट गरेको छ । त्यसमध्ये एक हजार एक सय ९५ वटाको छानबिन गरी पीडितलाई न्यायका लागि सरकारलाई सिफारिस गरेको थियो ।

त्यसमध्ये करिब ५० प्रतिशत कार्यान्वयन नभएको आयोगले जनाएको छ । सिफारिसमध्ये १२.६४ प्रतिशत पूर्ण रुपमा तथा ३७.२३ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएको आयोगले जनाएको छ ।