काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेकपाका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेसगै मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ । सहमति अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भइसकेका छन् ।

चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन् । अब मन्त्रिपरिषदमा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा मुख्यमन्त्री शाहीले पूर्वमाओवादी समूहबाट समेत मन्त्री थप्ने तयारी गरेका छन् । यस कुराले प्रचण्ड समूह कमान्डर, नेपाल समुह हाबी र ओलि समुह कमजोर रहेको बुझीएको छ ।