काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि अरु प्रदेशमा पनि मुख्यमन्त्रीको राजीनामा र अविश्वासको प्रस्ताव दर्ता हुुुने संकेत देखिन्छ। यस बिसयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा शिर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

अध्यक्ष प्रचण्डको आग्रहमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा प्रधानमन्त्रीसहितका शिर्ष नेताहरुबीच सोमबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने भएको हो । शिर्ष नेताहरुको भोलिको छलफलले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा निर्णय लिनसक्ने बुझिएको छ ।

नेकपा संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध आइतवार १८ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा संसदीय दलमा दर्ता गराएपछि नेकपामा पुन: तरंग उत्पन्न भएको हो । कर्णाली प्रदेशमा लामो समयदेखि सत्ता पक्षकै सांसदहरु मुख्यमन्त्री शाहीप्रति असन्तुष्ट थिए।