एजेन्सी – भारत–चीन सीमा विवादका विषयमा वार्ता गरेर कुनै फाइदा नहुने एक अमेरिकी अधिकारीले बताएका छन् ।  अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले वार्ता, सहमति गरेर चिनियाँ कम्युनिष्ट पार्टीको सरकारलाई उसको बाटोबाट मोड्न बाध्य गराउन नसकिने धारणा व्यक्ति गरेको हुन् । 

टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार  उनले चीनको आक्रामक कदमलाई अगाडीबाट सोही तरिकाले जवाफ दिनुपर्ने बताएका हुन् । चीन–भारत सीमा क्षेत्रमा चीन धेरै आक्रामक रुपमा प्रस्तुत भएको ब्रायनको दाबी छ । चीनले शक्ति प्रयोग गरेर सीमा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन प्रयत्न गरेको उनको आरोप छ ।

‘वार्ता, सहमतिबाट चिनियाँ जनमुक्ति सेनालाई न सहमत गराउन सकिन्छ न बाध्य गराउन सकिन्छ’ ब्रायनले भनेका छन् ।

सोमबार भारत–चीन सीमा क्षेत्र लद्दाखमा भारत र चिनियाँ सेनाका कमान्डरबीच वार्ता हुने कार्यक्रम तय भएको छ । यसको अघिल्लो दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यस्तो अभिव्यक्ति आएको हो ।

भारत चीनसँग वार्ता सहमति गरेर अघि बढ्नुको सट्टा सीमामा कडा रुपमा प्रस्तुत हुनुपर्ने तर्फ ती अमेरिकी अधिकारीले संकेत गरेका छन् ।  यही अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्री बीच बैठक हुँदैछ ।

यसको केही दिनअघि आएको अमेरिकी सुरक्षा अधिकारीको यस्तो भनाइलाई अर्थपूर्ण मानिएको छ । ती अधिकारीको भनाइको अर्थ भारत चीनसँग रक्षात्मक नभएर आक्रामक विदेश नीतिका साथ प्रस्तुत होस् भन्ने चाहना अमेरिकाको रहेको देखिन्छ ।