काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण भई जनता समाजवादी गठन भएको झण्डै ६ महिना भएको छ तर अहिलेसम्म न संसदीय दलका नेता चयन भएको छ न केन्द्रीय समिति गठन भएको छ । ६ महिनासम्म पार्टी केन्द्रीय समिति बिहीन छ । यसैगरी संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक बिहीन पार्टी चलिरहेको छ । निर्वाचन आयोगमा दुई पार्टी एक भएको प्रमाणपत्र बुझाए पछि कानुनी रुपमा दुई पार्टी एक त भएका छन्, तर  व्यबहारिक रुपमा अहिले पनि दुई पार्टीका अलग अलग संसदीय दल छन् । आफना पार्टीका सांसदहरुको विषयमा निर्णय गर्नु परेमा सम्बन्धित संसदीय दलले गर्ने गरेका छन। सरिता गिरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय तत्कालिन समाजवादी पार्टीको संसदीय दलको बैठक बसेर निर्णय गरिएको थियो । 

स्रोतका अनुसार एकीकृत पार्टीको संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसदीय दलका नेता चयन गर्न सकिएको छैन। दूई पार्टीवीच एकीकरण हुँदा नै आफूलाई एकीकृत पार्टीको संसदीय दलको नेता चयन गर्ने भनी अनौपचारिक सहमति गरिएको राजेन्द्र महतोको दावी छ। महन्थ ठाकुर संसदीय दलको नेता आफै हुन चाहन्छन । तत्कालिन राजपाको संसदीय दलका नेता ठाकुर थिए । यता, जसपाका अध्यक्ष उपेन्द्र यादव पार्टी अध्यक्ष मात्र नभइ संसदीय दलका नेता पनि छाड्ने पक्षमा छैनन । बाबुराम भट्टराई निकट नेताहरु भट्टराईलाई संसदीय दलको नेता बनाए भट्टराईप्रति न्याय हुने तर्क राख्छन् । तर यो स्वर भने त्यती बलियो छैन ।