नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्गको काम सुरु हुँने भएको छ ।

जापानीज टनेल विज्ञ, इन्जिनियर, प्राविधिकसहित १९ जनाको टोली शुक्रबार साँझ नेपाल एयरलाइन्सको चार्टर उडानबाट काठमाडौं आइपुगेसंगै काम सुरु हुँने भएको हो ।

काठमाडौँ आईपुगेको टोली १४ दिन क्वारेन्टाईनमा बसेपछि मुख्य सुरुङको काम सुरु गर्ने विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।

हाल निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ ।

गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो ।

निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ ।

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । त्यस स्थानमा सयौँको सङ्ख्यामा सवारी साधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

बयालीस महिनाको अवधि निर्माण सम्पन्न गर्नका लागि पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिगँ्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङगा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने बताइएको छ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका स्टल हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ ।

जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु गरिएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।